उपनिर्वाचनको मतपरिणामले कांग्रेसमा आत्मबल बढ्यो: प्रवक्ता

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

हालै सम्पन्न उपनिर्वाचनको परिणाम बारे प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आफ्नो आत्मबल बढेको आधिकारीक प्रतिक्रिया दिएको छ । सोमबार पार्टी केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता विश्वप्रकाश शर्मामले चुनावको यो परिणामले सरकारलाई सच्चिन दबाब बढेको पनि बताउनु भएको छ ।

‘निर्वाचनको मत परिणामले कांग्रेसको आत्मबल बढेको छ भने नेकपालाई सच्चिन दबाब बढेको छ’ प्रवक्ता शर्माले भन्नुभयो–निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न सरकारले सबै शक्ति प्रयोग गर्दा पनि कांग्रेसले जनमत बढाएको छ । यस अघि कांग्रेस नेतृत्वको सरकारले गराएको निर्वाचन निष्पक्ष र स्वच्छ भएपनि यो पटक निर्वाचन आचारसंहिता विपरितका धेरै काम भएको पनि प्रवक्ता शर्माले बताउनु भएको थियो ।

कांग्रेसले हारेको कतिपय ठाउहरुमा पनि गत निर्वाचन भन्दा मत बढाएकोले कांग्रेसको थप आत्मविश्वास बढेको भन्दै प्रवक्ता शर्माले कतिपय ठाउमा नेकपाले सहानुभुतिको आधारमा मत संकलन गरेको बताउनु भएको छ । कास्किको सन्दर्भमा नेकपालाई सहानुभुतिको मत प्राप्त भएको भन्दै उहाले सहानुभुतिको मत धेरै समयसम्म नरहने बताउनु भएको थियो। खासगरि धरानको मतपरिणामले विषेश महत्व राख्ने भन्दै उहाले यसले समग्र मतपरिणामको सन्देश गएको पनि बताउनु भएको थियो ।

आन्तरीक संगठन सुदृढिकरण गरि आगामी आम निर्वाचनको तयारीमा जुटिरहेको कांग्रेसलाई अहिलेको मतपरिणमले थप हौसला मिलेको भन्दै प्रवक्ता शर्माले उपनिर्वाचन मार्फत् एक ढंगको जनमत सर्भेक्षण सार्वजनिक भएको र यसलाई विश्लेषण र आत्मसात गर्दै अघि बढ्ने बताउनु भएको थियो ।

मंसिर १४ गते भएको प्रतिनिधिसभा सदस्य–३, प्रदेश सभा सदस्य–१, उपमहानगरपालिका प्रमुख–३, गाउँपालिका अध्यक्ष–१ उपाध्यक्ष र ४३ वडाध्यक्ष सहित जम्मा ५२ स्थानमा भएको उपनिर्वाचनको गणितीय र राजनीतिक दुवै विश्लेषण गरि प्रमुख प्रतिपक्षदल नेपाली काग्रेसले सोमबार पत्रकार सम्मेलन गरेको हो ।

पत्रकार सम्मेलनमा कांग्रेसले आफ्नो पार्टीले कहाँ उपलब्धि हासिल ग¥यो, कहाँ गुमायो, विगतमा भन्दा मतान्तर नेकपासँगको मतान्तर प्रतिस्पर्धामा कति घट्यो, कहाँ बढ्यो जस्ता तथ्याङ्कका साथै उपनिर्वाचनले समग्रमा प्रतिपक्ष र सरकारलाई दिएको सन्देशको बारेमा पनि प्रष्ट पारिएको थियो ।

अनेक प्रतिकूलताका बीच मतदाताले मत प्रदान गरेर नेपाली कांग्रेसलाई विगतमा भन्दा समग्रमा बढी मत दिनुको अर्थ भन्दै प्रवक्ता शर्माले बितेको २१ महिनामा कांग्रेसले प्रस्तुत गरेको जिम्मेवार र शालिन प्रतिपक्षी भूमिकाको अनुमोदनको रुपमा समेत अर्थउनु भएको थियो ।

समग्रमा मत बढे पनि कतिपय ठाउमा काग्रेसको मत घट्नुको कारण बारे सोधिएको प्रश्नमा प्रवक्ता शर्माले भन्नुभयो– यसले आन्तरिक सांगठनिक समीक्षा गहिरोसँग गरेर आगामी दिनको तयारी गर्नु पर्ने टड्कारो आवश्यकताको सन्देश काग्रेसले प्राप्त गरेको छ । ०७४ को तुलनामा नेपाली कांग्रेस र नेकपाका बीचको मतान्तर ०७६ मंसिर १४ मा आइपुग्दा घटेको छ भन्दै उहाले थप्नुभयो– यसले एकातर्फ नेपाली कांग्रेसको सांगठनिक आत्मबलमा अभिवृद्धि गराएको छ भने अर्कोतर्फ आगामी निर्वाचनको लक्ष्य हासिल गर्ने दृढतामा अघि बढ्न उपनिर्वाचनको मैदानको झै ‘बाहिर गति र भित्र अन्तर्विश्वास’ बढाउन खुला सन्देश सिंगो पार्टी पंक्तिलाई प्राप्त भएको छ ।

उपनिर्वाचनमा काग्रेसले १ गाउँपालिका अध्यक्ष, १ उपाध्यक्ष र केही वडाध्यक्ष गुमाएका छ । यसबारेमासांगठनिक कमजोरीको समीक्षा हामी गरिने छ भन्दै काग्रेस प्रवक्ता शर्माले प्रदेश २ को रौतहट, सुदूरपश्चिम प्रदेशको बैतडी, प्रदेश ५ को अर्घाखाँची अनि प्रदेश ३ को चितवन, प्रदेश १ को धरान र उपत्यकाको भक्तपुरमा प्राप्त परिणामले नेपाली कांग्रेसलाई विशेष रुपले उत्साही तुल्याएको बताउनु भएको छ ।

एक गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र केहि वडाध्यक्षको अंक हासिल भएको तथ्य अघिल्तीर राखेर सरकारका पक्षमा जनमत जस्ताको तस्तै कायम छ भन्ने आत्मसन्तोष लिन सकिने सुविधा सरकार या नेकपासँग भएपनि त्यसभन्दा व्यापक प्रभाव राख्ने केहि सन्देशमूलक वडा, एक उपमहानगरपालिका नेतृत्व अनि एक प्रदेश क्षेत्रको परिणामले नेकपालाई ‘आजै सच्चिने की भोलि सक्कीने’ सन्देश दिएको पनि प्रवक्ता शर्माले बताउनु भएको थियो ।