प्रहरी कार्यालयभित्रै प्राथमिक उपचार कक्ष स्थापना

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज । वीरगन्जको एक निजी अस्पतालको सहयोगमा जिल्ला प्रहरी कार्यालय पर्सामा प्राथमिक उपचार कक्ष स्थापना गरिएको छ ।

घाउ चोटपटक लाग्दा तत्काल ब्यान्डेज गर्ने, सुई लगाउने, ब्लड प्रेसर जाँचलगायत सामान्य खालका नियमित स्वास्थ्य परीक्षणका लागि प्राथमिक उपचार कक्ष स्थापना गरिएको हो ।उपचार कक्षको नगर प्रमुख विजयकुमार सरावगीले सोमबार उद्घाटन गर्नु भएको हो । केन्द्र स्थापनाका लागि वीरगन्ज महानगरपालिका, जिल्ला प्रहरी कार्यालय पर्सा समुदाय प्रहरी साझेदारी, प्रभु हस्पिटल र माट्रिका आई फाउन्डेशनबीच सहकार्य गरिएको छ ।सीसीटीभी क्यामेरा कन्ट्रोल रुमसँगै स्थापना गरिएकोे प्राथमिक उपचार कक्षमा अहेब ज्ञान प्रकाश यादव बिहान १० बजेदेखि ५ बजेसम्म ड्युटीमा रहनुहुनेछ। सामान्य चेकजाँचका लागिसमेत थुनुवालाई चार जना प्रहरी कर्मचारी साथमा लगाएर नारायणी अस्पताल लैजानुपर्ने र सर्बसाधरणको भीड लागेको ठाउँमा टिकट काटेर उपचार गराउनुपर्ने बाध्यताको अन्त्य हुने विश्वास सरोकारवालाको छ ।

प्रभु हस्पिटलका सञ्चालक डा. मनोज गुप्ताले सामान्य चेकजाँचसँगै स्वास्थ्य सम्बन्धी आवश्यक सर सल्लाह केन्द्रबाट प्रदान हुने बताउनुभयो । केन्द्रबाट सामान्य खालका औषधिसमेत निःशुल्क वितरण गरिने उहाँले बताउनुभयो । हिरासतका थुनुवा र प्रहरी कर्मचारीले समेत केन्द्रबाट लाभ लिन सक्ने जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिनुभयो ।