![](https://newsofnepal.com/wp-content/uploads/2019/12/Prateek-Dhakal.jpg)
नियात्रा विधामा सिद्धहस्त स्रष्टा तथा साहित्यकार प्रतीक ढकाल पूर्वप्रशासक तथा हिमालबारे जानकार व्यक्तित्व हुनुहुन्छ। उहाँले ७६ जिल्ला घुमेर नेपालबारे विदेशीलाई चिनाउन अभियन्ताकै रूपमा धेरै काम गर्नुभएको छ। दुई दर्जन पुस्तकका धनी ढकालसँग नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा पर्यटन साहित्यका विविध विषयमा नेपाल समाचारपत्रका लागि यदुप्रसाद भट्टले गरेको कुराकानीको सारसंक्षेप :
यहाँले नियात्रा संस्मरणलाई साहित्यमा कहाँनेर राख्नुहुन्छ ?
नियात्रा विधा निबन्धको एउटा उपविधा हो। अहिले यो धेरै लोकप्रिय भएर गएको छ। यसको अर्को कुरा के भने नेपाली साहित्यमा लामो जग भएको विधा पनि यही हो। विसं १५३० मै राजा गगनीराजको यात्रा निस्किसकेको छ। यसको पाँच सय वर्षभन्दा लामो इतिहास छ। हिजोआज धार्मिक प्रयोजनका लागि मात्र नभएर पर्यटनसँग सम्बन्धित विषय भएकाले धेरै साथीहरूले यसलाई नियात्रा हुँदाहुँदै पनि पर्यटन साहित्य भन्नुहुन्छ। यस मा चाहिँ विशुद्ध रूपमा पर्यटन साहित्य छ भनेर सबैभन्दा पहिले राजेन्द्रदेव आचार्यले भन्नुभयो र यसलाई पर्यटन साहित्य भनेर नामकरण गर्नुभयो।
हिमालय क्षेत्रको पर्यटन पदयात्रामा रेकर्ड नै राख्नुभएको छ नि ?
धेरै घुमेर आएको छु। ७७ जिल्लामध्ये ७६ घुमेको छु। हुम्लामा चाहिँ घुम्न पाएको छैन। लामो ग्रेट हिमालयन वारपार भएर कञ्चनजंघाबाट पसेर अपी हिमाल निस्कने त्यस्तो यात्रा त मैले गरेको छैन। मलाई के लाग्छ भने तीन सयभन्दा बढी हिमालको बेस क्याम्पमा पुगेको छु होला। निकै घुम्ने मान्छेभित्र पर्छु भन्नचाहिँ रुचाउँछु।
मलाई राजदूत बन्नु छैन, मागेको पनि होइन। तर, पाँच सय पनि टुरिस्ट नआएको देशमा मलाई राजदूत बनाएर पठाऊ। चार वर्षमा २० हजार नघाउन सकेनछु भने मैले खाएको तलबभत्ता सबै फिर्ता लेऊ सरकार भन्न म तयार छु।
नेपाल भ्रमण वर्ष सन् २०२० को संघारमा छौं हामी। त्यति बेला यहाँले व्याख्या गरेका पदयात्राहरू परिवर्तन भइरहन्छन्। यसले पर्यटक तथा पर्यटनलाई असर पार्दैन ?
हिजोआज पर्यटकीय रुटहरूमा केही सुविधा वृद्धि भएको छ। कतियय ठाउँमा होमस्टे खुलेका छन्। सजिलो हुँदै गएको छ। खान नपाइने ठाउँमा खान पाइने भएको छ। त्यही गोसाइँकुण्डमा म जाँदा स्याउलाको छाप्रोमा बस्नुपर्ने स्थिति थियो, हिजोहिजो वास बस्न तथा खानका लागि स्तरीय पर्यटकीय होटलहरू खुलेका छन्। तर, केही ठाउँमा प्राकृतिक वस्तुको हरण पनि भएको छ। जस्तो पदयात्रा बाटाहरूमा मोटरबाटो पुग्दै जाँदा हामीलाई नोक्सान पनि भएको छ। जस्तो जोमसोमदेखि लोमानथाङसम्मको यात्रा गर्दा हिमालको रोमाञ्चकता बेग्लै थियो। अहिले जीपमा झुन्डिएर जाँदा त्यो स्वर्गीय आनन्दको अनुभूति पाउन सकिँदैन। यहाँ सुविधा र असुविधा त धेरै छन्। कहीं पदयात्राका बाटाहरू हराएका छन्। प्रदूषण बढेको छ। पर्यटकले आनन्दसँग जंगल, भीर, पाखा, नदीकिनारमा हिँड्न पाउनुको मजा नै बेग्लै छ। समय कालक्रमले ल्याएका केही कुरामा राम्रो र केही कुरामा नराम्रो भएको देखिन्छ। म धेरै ठाउँमा घुमेको छु।
अहिले सुदूरपश्चिममा त पैसा बिक्ने अवस्थै छैन नि। तपाईंले चारगुना बढी दिन्छु भन्दा पनि खाना दिने अवस्था नै छैन। अहिले पूर्वमा केही सहज भएको छ। ढाकरमा बोकेर लगेको चाउचाउ र बियर खुवाएर पर्यटकलाई लोभ्याइँदै छ। त्यहींको स्थानीय उत्पादन खुवाउनुपर्छ। मकै, भटमास, सिस्नुआदि स्थानीय परिकार खुवाउँदा स्थानीयको व्यापार व्यवसाय बढ्छ। पर्यटक खुसी हुन्छन्।
नियात्रा संस्मरणका माध्यमबाट पर्यटनलाई कसरी सघाउन सकिन्छ ?
पहिलो त यसले पर्यटनलाई सघाउने एउटा रहर जगाउँछ। दोस्रो कुरो सूचना दिन्छ। तेस्रो कुरा गर्न सकिने रहेछ भन्ने आँट हिम्मत पनि दिन्छ। जस्तो नाम्चेबजार भनेको ३४ सय ४० मिटरको उचाइ हो। नाम्चेबजारमा जाँदा लेक लागेर बस्न नसकेर आकस्मिक उद्धार गरेर फर्केको मान्छेलाई मैले पाँच हजार चार सय १६ मिटर अग्लो थोराङपास यात्रा गराएँ। मेरो ‘सेती पनि काली पनि’ भन्ने पुस्तक हातमा बोकेर पश्चिम नेपाल जाने मानिस धेरै छन्। त्यस्तै ‘सगरमाथाको आधार शिविर’ बाट बोकेर त्यस क्षेत्रमा भ्रमण गर्ने पदयात्री पनि कम छैनन् । मैले यात्रीलाई निर्देशन भनेर बुँदागत रूपमा लेख्न मिलेन। मेरो विधा साहित्य हो, पुस्तक साहित्यिक पर्रयो। तैपनि कसरी तयारी गर्ने भन्नेबारेमा आफ्ना अनुभवलाई समेटेर लेखेको छु। यसबाट धेरै लाभान्वित पनि भएका छन्। यसबाट तयारी कसरी गर्नुपर्ने रहेछ भन्ने कुराको उत्सुकता जगाउँछ।
हिजोआज केको तयारीमा हुनुहुन्छ ?
अहिले म कर्णाली अञ्चलको कालीकोट, जुम्ला, मुगु घुमेर आएँ तर यो तयार गर्न पाएको छैन। अब लेख्ने तयारीमा छु। २६ पेज लेखेर शुरू पनि गरेको छु। मेरो ‘आनन्दभूमिको आँगन’ सत्तरी सालमा निस्केको हो। त्यस दिनपछि सिंगो कृति निस्केको छैन। त्यो कृतिको सफलतामा म खुसी नै छु किनभने स्वामी आनन्द अरूणले पनि त्यसलाई देशले पायो नयाँ विशेषण भन्नुभयो। यो सिद्धभूमि, देवभूमि, तपोभूमि, ज्ञानभूमि सबैले भनेका थिए, आनन्दभूमि आनन्दभूमिको आँगन, गण्डकीको मुहानतिर कसैले भनेको थिएन। उहाँले पनि पर्यटकीय नाम पायो भन्नुभयो। राष्ट्रकवि माधवप्रसाद घिमिरेले पनि पछिल्लो दशकमा मैले श्रद्धाले ढोगेर पढेको पुस्तकमध्ये एक हो भनेर मलाई भन्दा ज्यादै खुसी लागेको छ। राष्ट्रकवि माधव घिमिरेजस्तो उचाइको मान्छेले ढोगेर पढेको किताबभन्दा मलाई खुसी नलाग्ने कुरै भएन। यसमा चारवटा खण्ड छन्। यसमा लेकतिर भन्या छ साथै खप्तडको पनि कुरो छ। हिमाल चढ्ने टेक्निकल पाटो नै त्यो किताबमा छ। अनि छेउकुनातिर भनेर चाँदनी र दोधाराको कुरो छ। हिमाल चिनेर गयो भने कसरी इज्जत हुन्छ हाम्रो भन्ने कुरो पनि लेखिदिएको छु।
हिमालको विषयमा प्रकाशित भएका कृतिबारे केही बताइदिनुहुन्छ कि ?
हिमालको विषयमा मेरा नौवटा कृति निस्किएका छन्। वियोन्ड द हिमालयज, हिमालपारि पुगेपछि, सेती पनि काली पनि, सगरमाथाको आधार शिविरबाट, पैतालाका छापहरू, परिक्रमा अन्नपूर्ण, चीनको विचित्र चित्र, आनन्दभूमिको आँगन, गण्डकीको मुहानतिर निस्किएको छ। त्यसपछि यता मेरो हिमालका बारेमा पुस्तक निस्किएको छैन। हाम्रा हिमालका उत्तरी पाटा, हिमालकै कुरा पुस्तकमा समेटिएका छन्। नेपालीले सबभन्दा कम चिनेको विश्वले चासो राख्ने चिज त हिमाल हो नि। संसारलाई पानी खुवाउने चिज हिमाल हो त्यसैले नेपालीचाहिँ नाम्चेबजार पुगेको हुँदैन तर एभरेस्टको नाउँबाट सबै देशले चिन्छन् भनेपछि त कति चासो रहेछ भन्ने त बुझिन्छ नि।
उसो भए पर्यटक भित्र्याउने कस्तो योजना छ त तपाईंको ?
१० लाख पर्यटक पुगे भनेर पर्यटनमन्त्रीले केक काटे, २० लाख पर्यटक कुनै ठूलो परिमाण होइन। नेपाल संसारमा यस्तो देश हो यति सानो देशको एक सय २० किलोमिटरको चौडाइ, हजार किलोमिटरको लम्बाइमा एक सय २३ वटा भाषा बोल्ने मान्छे छन्। एक सय २५ जातजाति छन्। संसारमा भएका नेपालमा नपाइने दुईवटा मात्र कुरा सामुद्रिक परिस्थिति हामीकोमा पाइँदैन, ध्रुवीय परिस्थिति हामीकोमा पाइँदैन बाँकी सबै कुरा हामीकोमा पाइन्छ। यस्तो देश छ भनेर हाम्रा राजदूत भनिएका यी राज्यले पालेका सेता हात्तीहरूले भनिदिए मात्रै पनि पर्यटकको ओइरो लाग्छ। १० लाख होइन २० लाख पर्यटक आउँछन्। यो देशको मार्केटिङ गर्ने काम कसको त्यही राजदूतको होइन ? यो देश कसको देशभन्दा संसारभरिका मान्छेले हिमालको देश, सगरमाथाको देश, गौतम बुद्धको देश भन्छन्।
१० वटा हिमालको नाम भन्ने राजदूत कति छन्रु १४ सय हिमाल भएको देश हो नेपाल। संसारमा आठ हजार मिटरमाथि उचाइ भएका १४ वटा हिमाल छन्। तीमध्ये नेपालमा आठ वटा छन्। अब चुली भन्नुहुन्छ भने संसारमा आठ हजार मिटरमाथिका २० वटा चुली छन् तीमध्ये नेपालमा १४ वटा छन्। तपाईं भन्नुहोस् त नेपालको कुन चाहिँ राजदूतले २० वटा हिमालको नाम भन्ला ? सात हजार मिटरमाथिका हिमाल एक सय २२ वटा छन्। ३८ सय उचाइ भएको जापानको फुजी हिमालको को त्यत्रो इज्जत छ। पाँच हजार मिटरमा त हाम्रो शेर्पा बस्ती छ। तिम्रो हिमालभन्दा हाम्रो बस्ती माथि छ भन्न मात्रै सक्यो भने मान्छे छक्क परेर आउँदैन र ? मध्यपूर्वका मुसलमानका देशहरू, खाडीका देशहरू जसले जिन्दगीमा एकझर पानी परेको देखेको छैन।
एउटा नेपालको २०/२५ फिटको सिंगै जमेको पहिरो, धाराको पानी लौरोजस्तै उभिएको, जस्तापाताको खोंचबाट खसेको शीत, खस्ताखस्तै जमेर रेशमीदार पर्दाजस्तै हल्लेर खसेको देख्यो भने त्यो मान्छेले कति पर्यटक लिएर आउला। त्यसैले धिक्कार छ यी राजदूतहरूलाई अनि धिक्कार छ यिनीहरूलाई राजदूत बनाउनेहरूलाई। नेपाल चिनेको मान्छे चाहिँदैन राजदूत बन्नलाई ? कुनचाहिँ राजदूतले पाँचवटा बुद्धको नाम जानेको छ ? बर्मा जाने राजदूत कमसेकम बुद्धबारे बुझेको हुनुपर्छ कि पर्दैन ? उसले नेपालका बुद्ध को हुन्, कसले के गर्छन् ? अमिताब बुद्धले के गर्छन् ? अमोकसिद्धि के हुन् ? बैरोचन के हुन् ? रत्नसंभव के हुन् ? हामी किन अभिलोगित्यश्वरलाई मान्छौं ? उसले भन्नुपर्छ अनि पो उनीहरूले नेपाल भ्रमण गर्छन्। न उनीहरूले पाँच वटा बुद्ध चिनेका छन्, न हिमालका नाउँ भन्न सक्छन्।
यस्ता व्यक्ति भागवन्डामा राजदूत भएर गएका छन्। कोही नातेदार भएर गएका छन्। कसैलाई अपराध ढाकछोप गर्न पठाउनु परेको छ। कसैलाई पैसा कमाउन पठाउनु परेको छ। ३५ जना राजदूतमा यिनीहरूको मूल्यांकन कसरी गर्ने रु यिनीहरूले राम्रो काम गरिदिए भने पर्यटक आइहाल्छन् नि। अनि पो सरकारको नेपाल भ्रमण वर्ष २०२० सफल हुन्छ।
सरकारले के गर्रयो भने नेपाल भ्रमण वर्ष सफल हुन्छ होला ?
नेपाल भ्रमण वर्ष सफल पार्न देश बुझेको मान्छे राजदूत हुनुपर्छ। सबै दूतावासलाई कुरा गर्नुपर्रयो। सबै दूतावासले नेपालबारे लेखिएका अङ्ग्रेजी किताबहरू सबै किनेर थुपारेर आउने पाहुनालाई एकएक वटा उपहार दिनुपर्छ। तपाईंले दिँदा एउटा किताब दिनुहुन्छ, त्यो किताब पढेर नेपाल राम्रो छ भनेर उनीहरू धेरै मान्छे पठाउँछन्। अहिले सरकारले एउटा किताब किन्ने मूल्य हेर्नुहुँदैन। बीउ किन्न महँगो पर्छ भनेर बाली नलागे अर्कोपालि पनि केही हुँदैन। त्यसैले त्यही विओन्ड हिमालयजस्ता अरू किताबहरू छन् होला, हर्क गुरुङले लेखेका किताब होलान्, मैले लेखेको पनि होला। यस्ता किताब हजारौंको संख्यामा किनेर राख्नुपर्छ र विश्वभरि दिनुपर्छ, तब पो जग बस्छ त।