‘पदमार्ग सुरक्षित गर्नुपर्छ’

0
Shares

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउँदैछ । सरकारीस्तरबाट भ्रमण वर्ष मनाउन लागिएको यो तेस्रो पटक हो । भ्रमण वर्ष शुरू हुन एक महिना बाँकी हुँदा भ्रमण वर्षको तयारी कस्तो छ, विगतका अनुभवबाट के सिक्न सकियो भन्ने, भ्रमण वर्षमा के कुराको आवश्यकता छ, कसरी भ्रमण वर्ष सफल बनाउन सकिन्छ, कहाँ के कमजोरी भएको छ भन्नेलगायतका विषयमा नेपाल समाचारपत्रको नेपाल भ्रमण वर्ष २०२० विशेषाङ्कका निम्ति पर्यटन क्षेत्रमा सरोकारवालासँग परिवर्तन देवकोटाले गरेको कुराकानी ः

अग्नि कँडेल
संयोजक, नेपाल भ्रमण वर्ष २०२०, गण्डकी प्रदेश

सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई कसरी लिनुभएको छ ?

सरकारले नेपाल भ्रमण वर्ष २०२० को घोषणा गरेर निकै राम्रो गरेको मलाई लागेको छ। राज्यले नै नेपालको आर्थिक विकासका लागि तीनवटा मुख्य एजेन्डालाई अगाडि सारेको छ। ती हुन्– पर्यटन उद्योग, हाइड्रो पावर र कृषि।

पर्यटन उद्योगमा पूर्वाधारको क्षेत्रमा अरू उद्योगको तुलनामा धेरै लगानी गर्नुपर्दैन। कम लगानीमा नै राम्रो व्यवस्थापन गरेर यसलाई अगाडि बढाउन सकिन्छ। यसबाट विदेशी मुद्रा आयआर्जन तथा नेपालमा रोजगारीको सिर्जना व्यापक बनाउन सकिन्छ।

विश्वका पर्यटक नेपालमा आएर हेरेर यसमा आनन्द लिँदा उनीहरूले नमरी स्वर्ग गएको आभाष गर्छन्। यसबाट राज्यले आर्थिक उन्नतिका लागि नेपाल भ्रमण वर्ष आयोजना गरी यसलाई एउटा आधार मानेर अगाडि जान सक्यो भने विश्वमा हाम्रो चिनारी अझ व्यापकरूपमा लैजान सकिन्छ।

यसमा दुईवटा कुराहरू महत्वपूर्ण छन्। भ्रमण वर्षलाई आधार मानेर पूर्वाधारको विकास गर्ने र विश्वका पर्यटक नेपाल भित्याई राज्यले अर्थोपार्जन गर्ने। यी कुराहरूलाई मध्यनजर गरेर नेपाल भ्रमण वर्ष २०२० को आयोजना भएको हो।

यद्यपि हामीकहाँ शुरुआत गर्ने तर त्योभन्दा पहिला के–के गर्ने, त्यसपछि के–के गर्ने भन्ने कुराको कुनै तयारी नभएको जस्तो देखिने प्रवृति छ। अहिले पनि भ्रमण वर्षको पूर्वतयारीको भने कमी देखिन्छ।

नेपाल आउने पर्यटकको मुख्य आकर्षक गण्डकी प्रदेशमा रहेका विभिन्न सम्पदा नै हुन्। यसरी हेर्दा, गण्डकी प्रदेशले पर्यटक भित्याउनका लागि कस्तो तयारी गरिरहेको छ ?

गण्डकी प्रदेश स्वभावैले पर्यटकलाई मन पर्ने क्षेत्र हो। भ्रमण वर्षलाई लक्षित गरी अहिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम तीव्र गतिमा भइरहेको छ। अबको ८ देखि ९ महिनासम्ममा यस विमानस्थलमा आकस्मिक ल्यान्डिङ गर्ने सकिने व्यवस्था हुन्छ। गण्डकी प्रदेशका लागि यो एउटा शौभाग्यको कुरा हो।

गण्डकी प्रदेशमा आउने पर्यटक हिमालतिर पदयात्राको रुचि गर्ने गर्छन्। विगतका समयमा पदमार्गहरू बनेका थिए, जुन विश्वका उत्कृष्ट गन्तव्यका रूपमा चिनिरहेको थियो, त्यो अलिकति धरापमा परेको जस्तो देखियो।

राज्यले त्यसलाई व्यवस्थित तथा संरक्षण गर्नेतर्फ ध्यान नदिइकन हरेक क्षेत्रमा डोजर लगाएर बाटोघाटो लैजाने गरेको हुनाले ती रुटहरू अप्ठ्यारोमा परेका छन्। त्यस्ता पदमार्गको संरक्षण कसरी गर्न सकिन्छ भनेर हामीले ध्यान केन्द्रित गरिरहेका छौं भने अर्कातिर पदमार्गका नयाँ गन्तव्यको पहिचान गर्ने र तिनीहरूको विकास गर्नेतर्फ पनि हामीले काम गरिरहेका छौं।

नेपालमा पर्यटनको शुरुआत पनि पोखराबाट भएको हो। हिमाल चढ्ने सन्दर्भमा पनि अन्नपूर्ण क्षेत्रबाट नै क्लाइम्बिङको शुरुआत भएको हो। यो ६० वर्ष पहिलाको कुरा हो। यति लामो अनुभव हुँदा पनि हामी अलि ओझेलमा परिरहेका छौं, त्यस कारण हामी अहिले यसलाई अझ विस्तारित ढंगले लैजान खोजिरहेका छौं। भ्रमण वर्ष २०२० मा यहाँको क्लाइमिङमा केन्द्रित हुनेतर्फ ध्यान दिएका छौं।

‘तालै तालको शहर’ का रूपमा पोखरा परिचित छ। अहिले यहाँका ताल विस्तारै खुम्चिँदै गइरहेका छन्। एउटा त व्यवस्थापन नै छैन, विभिन्न व्यक्तिबाट तालको जग्गा अतिक्रमित भएको छ। यी तालहरूको व्यवस्थापनका लागि पनि हामीले केही काम गरिरहेका छौं।

गण्डकी प्रदेशमा आउने मुख्य सडकहरू बिग्रिरहेको अवस्था छ। काठमाडौंबाट पोखरा आउन ८/९ घन्टा लाग्ने अवस्था छ। यसलाई छिटोभन्दा छिटो निर्माण तथा मर्मत सम्भार गर्ने काममा पनि हामी अग्रसर भएका छौं। मुग्लिनबाट पोखरा आउने सडकलाई सहज बनाउनका लागि सहमति पनि भइरहेका छन्।

यस्तै गण्डकी प्रदेशका ११ वटै जिल्लामा धार्मिक दृष्टिकोणले महत्वपूर्ण रहेका स्थानहरूको पहिचान गरी ती ठाउँको प्रवद्र्धन गर्नेतर्फ हामी अग्रसर भएका छौं। अन्य साइट सिनका लागि पनि बृहतरूपमा विकास गरेर बढीभन्दा बढी पर्यटक भित्याउने र आउने पर्यटकको बसाइ लम्बाउनेतर्फ हामीले ध्यान केन्द्रित गरेका छौं।

यसरी समग्र पाटोलाई हेरेर योजना बनाउँदै छौं। यसमा दुई तरिका हामीले अवलम्बन गरेका छौं। यसमा तत्कालीन काम कसरी गर्ने र दीर्घकालीन काम कसरी गर्ने भन्नेतर्फ हामीले सोचिरहेका छौं।

पूर्वाधार विकासको कुरा गरिरहँदा पर्यटन पर्वद्धनका लागि यस क्षेत्रमा कत्तिको विकास भएको पाउन सकिन्छ ?

भ्रमण वर्षको तयारी गर्दै गर्दा पूर्वाधार विकासमा सन्तोषजनक अवस्था छैन। विकासको गतिविधि, शासनको गतिविधिहरू निकै छरपस्ट देखिन्छ। यद्यपि आजका दिनमा आउँदा म निकै आशावादी छु। अहिले स्थायी सरकार रहेको छ। अहिले यसले क्रमिकरूपले विकासका कामहरू गर्दै गइरहेको छ।

भ्रमण वर्ष २०२० मा पर्यटकको संख्यालाई निकै महत्व दिइएको छ। भ्रमण वर्षमा सरकारले जुन संख्यामा पर्यटक भित्याउने लक्ष्य राखेको छ, त्यो सम्भव होला ?

नेपाल भ्रमण वर्ष २०२० मा हामीले २० लाख विदेशी पर्यटक नेपाल भित्याउने लक्ष्य राखेका छौं। सरकारको लक्ष्यअनुसार नै पर्यटक भित्रने विश्वास मैले लिएको छु।यद्यपि कुनै कारणवश यही संख्यामा पर्यटक आएनन् भने पनि हामीले आगामी दिनमा यो संख्यामा पर्यटक भित्याउन सक्छौं।

यो संख्या नाघेर नै पर्यटकलाई भित्याउनुपर्ने पनि छ। तर, अहिलेको अवस्थामा अझैं पनि हाम्रो हुनुपर्ने पूर्वाधार तयार भइनसकेका कारणले अलिकति कठिन त छ। यस्तै, विश्व बजारमा हामीले नेपालबारे पस्कने विभिन्न कुरा पनि पर्याप्त पस्कन नसकेका कारणले कठिन छ। तर, पनि हामी आशावादी छौं।

पर्यटक त आउने तर खर्च नगर्ने प्रवृति छ भनिन्छ, अहिले पनि यस्तो हुन्छ कि ?

पर्यटनको विगतको इतिहास हेर्ने हो भने नेपालमा राम्रै पर्यटक आउने गर्दथे। बीचमा बजेट पर्यटक आउने क्रम बढ्दो छ। यसका केही पाटा छन्। जस्तो नेपालमा अत्यन्तै कम खर्च गरेर पनि त्यहाँको वातावरणमा रम्न सकिन्छ भन्ने मानसिकता छ।

र अर्को ‘ए’ क्लास, ‘बी’ क्लासका पर्यटक ल्याउनका लागि पूर्वाधार बनिसकेका छैनन्। जो मानिससँग बढीभन्दा बढी पैसा छ, त्यो मानिसले यहाँ त्यसैअनुरूपको वातावरण खोज्दछ, तर त्यस किसिमको वातावरण हामीले दिन सकिरहेका छैनौं। त्यस कारण अलिकति बजेट पर्यटकको आगमन बढ्दो छ।

अर्को कारण, अहिले विश्वमा आर्थिक मन्दी भइरहेको जस्तो अवस्था छ। त्यसले पनि अलि कम खर्च गर्ने पर्यटक नेपाल भित्रन्छन्। तर, अहिलेको अवस्थामा, ‘नाइस टुरिजम’ अलिकति भोलुममा ल्याउने हो। अलि विकास भइसकेपछि हामीले ‘क्वालिटी टुरिजम’ मा जोड दिने हो।

यसअघि आयोजना भएका दुई भ्रमण वर्षलाई कसरी नियाल्नुभएको छ ?

कुनै पनि काम नगरिकन बस्नुभन्दा गर्नु नै बेस हुन्छ। त्यो दृष्टिकोणबाट यसअघि १९९८ र २०११ मा आयोजना भएका भ्रमण वर्ष सफल भएका हुन्। त्यसबाट देशलाई केही न केही फाइदा भएको छ।

भ्रमण वर्ष २०२० मा गण्डकी प्रदेशमा कति पर्यटक भित्याउने लक्ष्य राखिएको छ ?

पर्यटकको संख्या बढाउने, बढी भन्दा बढी पर्यटक भित्याउने भन्ने लक्ष्य त राखिएको छ। तर, कति आम्दानी गर्ने भित्याउने भन्ने मापन हामीले गरिसकेका छैनौं। हामीले २०१९ मा आन्तरिक भ्रमण वर्ष पनि सञ्चालन गरिरहेका छौंं। २०२२ मा पनि भ्रमण वर्ष आयोजना गर्ने प्रदेश सरकारले घोषणा गरिसकेको छ। गण्डकी प्रदेशले २०२२ मा २० लाख बाह्य पर्यटक यस प्रदेशमा भित्याउने लक्ष्य राखेको छ। त्यस कारण जनि पर्यटकहरू आउने भए, त्यति मात्रामा विदेशी मुद्रा आम्दानी हुने भयो।

गण्डकी प्रदेशमा पर्यटकका लागि रुचिकर विषय प्रशस्त छन्। यद्यपि यससँगै अन्य नयाँ पर्यटकीय गन्तव्यको पनि विकास गर्नुभएको छ कि ?

हामीले नयाँ पदमार्ग सञ्चालनमा ल्याउँदै छौं। केही समयमा नै यसबारे हामी सबैलाई जानकारी गराउँछौं। धौलागिरी क्षेत्रको पनि अलि बढी प्रवद्र्धन गर्ने तयारी गरिरहेका छौं। साइटसिनमा यहाँ प्रशस्तै ठाउँ रहेका छन्।

कास्कीमा स्तुप, मट्टीखान, काउँ भ्युटावर, सराङकोटलगायत थुप्रै ठाउँ रहेका छन्। यसका अलवा हामीले अन्य गन्तव्य पनि तय गर्दै छौं। यसै गरी गण्डकी प्रदेशमा रहेका सबै जिल्लाका पर्यटकीय क्षेत्रहरूलाई भ्रमण वर्षमा तयार पार्ने र प्रवद्र्धन गर्ने तयारीमा हामी रहेका छौं।

बढ्दो बस्तीकरणले वातावरण बढी मात्रामा प्रदूषणको चपेटामा छ, फेवाताल पनि अतिक्रमणकै सिलसिलामा छ भनिन्छ, यसलाई व्यवस्थापन कसरी गर्दै हुनुहुन्छ ?

यो अत्यन्तै ठूलो र चुनौतीको विषय हो। नेपालमा विश्वका पर्यटक आउनका लागि आकर्षण हुन्छन् नै। तर, अहिले समस्या के छ भने यी सम्पदाको संरक्षण कसरी गर्ने ? यसलाई लामो समयसम्म कसरी जोगाइराख्ने भन्ने कुरामा हामीलाई चिन्ता छ। व्यक्तिगतरूपमा पनि म अत्यन्तै चिन्तित छु।

प्रकृतिले दिएको वस्तुलाई हामीले संरक्षण गर्न सकेनौं भने के गर्न सक्छौं होला र ? यहाँका तालतलैयाहरूलाई हामीले चुस्तदुरुस्त राख्नै पर्छ। यहाँका बाटोघाटो पनि अलि अस्तव्यस्त नै छ। हामीले पनि सरकारलाई घचघचाइरहेका छौं। हामीले अबको ५ वर्षभित्रमा हाम्रो प्रदेश बनाउन सक्छौं भन्ने मलाई विश्वास छ।

यस्तै, फेवातालको कुरा गर्दा, यो अतिक्रमणको चपेटामा परेको छ। यसलाई मानिसले पनि अतिक्रमण गरेका छन् भने प्रकृतिले पनि अतिक्रमण गरेको छ। यहाँ बस्ती ठूलो भइसकेको छ। आजभन्दा ३० वर्ष अगाडि फेवातालको पानी गाग्रीमा उठाएर खाने चलन थियो।

अहिले त्यहाँ गएर हात धुन पनि सक्ने अवस्था छैन। त्यस कारण फेवातालको सिरानदेखि एउटा ड्यामको व्यवस्था गर्नुपर्छ, जसबाट फोहोर तथा ढलजन्य पदार्थ त्यहाँ मिसिन पाउँदैन। त्यस कारण यी सबै कुराहरूलाई हामीले केही समयमा व्यवस्थित बनाएर छाड्छौं।