भक्तपुरमा ७० प्रतिशत मत खस्यो, साँझबाटै मतगणना सुरु गर्ने तैयारी


पुष्कर बुढाथोकी, भक्तपुर ।

भक्तपुर–१ (क) मा प्रदेश सभा सदस्य पदकालागि भएको उपनिर्वाचन अन्तर्गत आज भएको मतदानमा ७०.७२ प्रतिशत मत खसेको छ ।

चाँगुनारायण नगरपालिकाको ९ वटा वडा र भक्तपुर नगरपालिकाको वडा नं. १० मा भएको निर्वाचनमा ७०.७२ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयलका सूचना अधिकारी भिम बिसीले जानकारी दिनुभयो ।

यस प्रदेशमा कुल ४५ हजार १५ मतदाता रहेकामा जम्मा ३१ हजार ६५२ जना मतदाताले मतदान गरेका छन् ।
२२ मतदानस्थल र ५४ मतदान केन्द्रमा मतदान गरिएको थियो

यहाँ एक प्रदेश सभा सदस्यकालागि १९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेल, नेकपाका उम्मेदवार देवीप्रसाद ढकाल र नेमकिपाका उम्मेदवार निरज लवजुबीच मुख्य प्रतिष्पर्धा हुने देखिन्छ ।
भँडेलले साइत हेरेरै ११ः४५ बजे चाँगु गाविस मतदान केन्द्रबाट मतदान गरेका छन् ।

ढकालले भक्तपुर नगरपालिका–१० स्थित सरस्वती विद्यागृह मतदान केन्द्रबाट मतदान गरेका छन् ।

मतदान सकिएसँगै मत पेटिका संकलन भैरहेको र सर्वदलीय सहमति अनुसार आज साँझबाटै मतगणना सुरु गरिने तैयारी भैरहेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिनुभयो ।

मत गणनाको लागि खरिपाटीस्थित बिद्युत् तालिम केन्द्र भवनमा तारजाली लगाएर स्थल तयार पारिएको छ ।

यस अघि मतदान केन्द्रमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, शशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनाल लगायतले अनुगमन गरेका छन् ।