भैरहवा मेलामा दर्शकको ओइरो आयोजक मक्ख, लुुम्बिनी भ्रमणको निम्तो


यमलाल भुसाल, बुटवल ।

महोत्सव सकिनै लाग्दा भैरहवामा जारी लम्बिनी पर्यटन प्रबद्र्धन औद्योगिक व्यापार तथा कृषि महोत्सव–२०७६ मा दर्शकको भिड बढेको छ ।

यही मंसिर ३ गतेदेखि सुरु भएको महोत्सव सकिन अब २ दिनमात्र बाँकी हुँदा दर्शकको उत्साह र सहभागिताले आयोजक निकै सन्तुष्ट देखिएका छन् । महोत्सवमा शनिबार मात्र एकैदिन ४० हजार दर्शकले अवलोकन गरेको आयोजकले जनाएका छन ।

विगतका महोत्सव हरुमा शनिबार मात्र महोत्सवमा दर्शकको चाप बढ्ने गरेको अनुभव सुनाउँदै यस पटकको महोत्सवमा शनिबार दर्शक बढी हुनु स्वभाविक भएपनि अन्य दिनपनि दर्शकको उपस्थितिले आफुहरु सन्तुष्ट भएको मेला मुल आयोजक समिति संयोजक नारायण प्रसाद भण्डारीले बताउनु भयो । शनिबार मात्र महोत्सवमा २ करोडको कारोबार भएको संयोजक भण्डारीले बताउनु भयो ।

दर्शकको चाप बढी भएपछि आयोजकले दर्शकलाई सहजै टिकटको व्यवस्थापन गर्नको लागि नियमित टिकट काउण्टरको अलवा ५ वटा टेबल बाट टिकट उपलब्ध गराएर भिडको व्यवस्थापन गरिएको सचिवालय संयोजक अनिल कुमार ज्ञवालीले बताउनु भयो ।

दर्शक मात्र नभइ यस पटकको महोत्सवमा स्टलको पनि भैरहवाको इतिहासमा सबैभन्दा बढी सहभागिता रहेको स्टल संयोजक रामचन्द्र रेग्मीले बताउनु भयो ।

उद्योग व्यापार संगठन रुपन्देही तथा नेपाल चेम्बर अफ कमर्स काठमाडौंको मुख्य आयोजनामा भैरहवाको अञ्चलपुरमा संचालन भइरहेको महोत्सवमा दर्शकहरुले महोत्सव स्थलमा निर्माण गरिएको मायाँदेवी मन्दिर र सो भित्र राखिएका विभिन्न पर्यटकीय स्थलहरु अत्यन्तै रुचाएका छन ।

साथै पशुपतिनाथ मन्दिर आकृतिको सचिवालय, सेल्फि जोन, मायाँदेवी मन्दिर आकृतिको प्रवेशद्वार लगायतमा सेल्फि लिनेको निकै भिड देखिएको थियो ।

भैरहवा मेलामा लुुम्बिनी भ्रमणको निम्तो

भैरहवामा जारी लम्बिनी पर्यटन प्रबद्र्धन औद्योगिक व्यापार तथा कृषि महोत्सव–२०७६ मा अवलोकन गर्ने दर्शकहरुलाई लुम्बिनी भ्रमणको निम्ता दिइएको छ ।

नेपाल भ्रमण बर्ष २०२० का सदस्य तथा लुम्बिनी प्रेस क्लबका सल्लाहकार चेतन पन्तको संयोजन तथा लुम्बिनी प्रेस क्लब र मेला आयोजक संस्था उद्योग व्यापार संगठनको आयोजनामा महोत्सव प्रवेशद्वार बाट महोत्सव प्रवेश गर्ने दर्शकलाई भ्रमणको निम्ता दिइएको हो ।

प्रदेश सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण बर्ष २०७६ लाई थोरै भएपनि सघाउने उद्देश्यले महोत्सव प्रवेश गर्ने दर्शकलाई लुम्बिनीको परिचय झल्कने ब्रोसर सहित निम्ता दिइएको कार्यक्रम संयोजक चेतन पन्तले बताउनु भयो ।

आफुले अमेरिका भ्रमणको क्रममा त्यहाँका विभिन्न स्थानमा लुम्बिनीको प्रचार प्रसार गर्दै लुम्बिनी भ्रमणको निम्ता दिए पश्चात आन्तरिक पर्यटकलाई पनि लुम्बिनी भ्रमणको निम्ता दिने उद्देश्यले महोत्सवमा करिब ५ सय निम्तो बाँडीएको पन्तले बताउनु भयो ।

यस पटकको महोत्सवमा पनि पर्यटन प्रबद्र्धनलाई प्राथमिकता दिइएको महोत्सव आयोजक संस्था उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण प्रसाद भण्डारीले बताउनु भयो ।

भण्डारीका अनुसार महोत्सवमा पर्यटकीय जोनको रुपमा मायादेवी प्याविलियनको निर्माण गरिएको छ । उक्त प्याभिलियन भित्र बिचित्र गुफा, विश्व शान्ति स्तुपा, देवदह, माछापुच्छ्रे हिमाल, मुस्तांग हिमाल, पाकरी वृक्ष, रारा ताल, सगरमाथा, सुपा देउराली, रेसुंगा, रानीमहल, सौराह, स्वर्गद्वारी, अन्नपुर्ण बेस क्याम्प, मार्दि हिमालको सचित्र राखिएको छ ।

संस्था स्थापना कालदेखि पर्यटन प्रबद्र्धनका विभिन्न कार्यक्रमहरु गर्दै आएको लुम्बिनी प्रेस क्लबले यस महोत्सवमा पनि दर्शकहरुलाई लुम्बिनी भ्रमणको निम्ता दिइएको क्लबका अध्यक्ष दिपेश पछाइले बताउनु भयो ।

कार्यक्रममा उद्योग व्यापार संगठन रुपन्देहीका बरिष्ठ उपाध्यक्ष गिरिषचन्द्र त्रिपाठी, महासचिव अनिलकुमार ज्ञवाली, प्रेस क्लबका महासचिव सम्झना शर्मा, सचिव माधब न्यौपाने, सल्लाहकार कमल रायमाझी लगायतको सहभागिता थियो ।