निर्वाचन अपडेटः धुलिखेल–२ रविगाउँमा ८० प्रतिशत मत खस्यो, साँझबाटै मतगणना हुने


मोतीराम तिमल्सिना, काभ्रे ।

धुलिखेल नगरपालिका–२ मा भएको उपचुनावमा १ हजार ५ सय २ मत खसेको छ ।

जसमा महिला ७ सय ५८ जना रहेका छन् भने पुरुष ७ सय ४४ जना रहेका छन् । १ हजार ८ सय ७७ मतदाता मध्ये ८० प्रतिशत मतदाताले मतदानमा सहभागिता जनाएको मुख्य निर्वाचन अधिकृत पुरुषोतम ढकालले जानकारी दिनु भयो ।

धुलिखेल नगरपालिका वडा नम्वर २ को निर्वाचनका लागि क र ख दुईवटा मतदान केन्द्र सेतिदेवी मावी माझथुममा कायम गरिएको थियो । क बुथमा क्रस १ देखि ९५२ सम्मका मतदाताहरुले मतदान गर्नेछन् भने ९ सय ५३ देखि १८ सय ७७ मतदातालाई ख मतदान केन्द्रमा मतदानको ब्यवस्था गरिएको थियो ।

नेकपा र नेपाली कांग्रेसका दुबै उम्मेदवार देवप्रसाद कोईराला र दर्णबहादुर क्षेत्री दुवैले क मतदान केन्द्रबाट मतदान गर्नु भएको थियो । मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदाताहरुको उल्लासपूर्ण सहभागिता रहेको मतदान अधिकृत सन्तोष कटुवालले जानकारी दिनुभयो ।

विहान ७ बजेबाट शुरु भएको मतदान साँझ ५ बजेसम्म संचालन भएको थियो । वडा अध्यक्षका लागि ४ दलले उम्मेदवारी दिएका थिए । नेकपाबाट देवप्रसाद कोईराला, नेपाली कांग्रेसबाट दर्णबहादुर क्षेत्री, राष्ट्रिय जनता पार्टी नेपालका कृष्णबहादुर तामाङ र राप्रपा संयुक्तका बासु थापाले उम्मेदवारी दिनु भएको थियो ।

निर्वाचन शान्तिपूर्ण

धुलिखेलमा भएको उपचुनाव शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना, नेपाली सेना विष्णु दल गणका गणपति सुवास खड्का, जिल्ला प्रहरी प्रमुख जयराज सापकोटा, शशस्त्र प्रहरी काभ्रेका प्रमुख एसपी पुरुषोतम थापा, राष्ट्रिय अनुसन्धानका डिएस्पी सरोज निरौला लगायतको टोलीले निर्वाचनको सुरक्षाका लागि टोली परिचालन गरेका थिए ।

नेपाली सेना, जनपथ र शशस्त्र गरी ७५ जनाको टोली निर्वाचन स्थलमा खटिएको थियो । मतदाताहरुलाई शरिर खानतलासी पछि मात्रै मतदान केन्द्रमा प्रवेश दिईएको थियो ।

निर्वाचनका लागि २०७६ साउन १६ गतेसम्म १८ वर्ष पुगेका मतदाताहरुको संख्या १ हजार ८ सय ७७ रहेको छ । जसमा ९ सय ४९ महिला र ९ सय २८ पु्रुष रहेका छन् । स्थानीय तहको निर्वाचन २०७४ मा सोहि वडामा १ हजार ६ सय ४९ मतदाता थिए । जसमा ८ सय २८ महिला र ८ सय २१ पुरुष मतदाता थिए । जसमध्ये १ हजार ४ सय २ मत खसेको थियो ।

खसेको मध्ये १ हजार ३ सय ४४ मत सदर भएको थियो भने ५८ मत बदर भएको थियो । खसेको मध्ये नेकपाका उम्मेदवार स्वर्गिय राजन कोईरालाले ८ सय ३६ मत प्राप्त गर्नु भएको थियो भने एकिकृत नेकपा माओवादीका उम्मेदवारले २ सय ४८ मत प्राप्त गर्नु भएको थियो ।

नेपाली कांग्रेसका उम्मेदवारले २ सय ६० मत प्राप्त गरेका थिए । सोहि वर्ष सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा १ हजार ८ सय ३४ मत खसेको थियो । २ वर्षमा ४३ जना मतदाता मात्रै थपिएका छन् । नयाँ मतदाता १२ जनाले मतदाता परिचयपत्र लिएका थिए । २०७६ कार्तिक २० गते बुधबार धुलिखेलमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको थियो ।