एचआईभी संक्रमीतको संख्या प्रदेश नं ३ को काठमाडौमा बढी


न्युज अफ नेपाल, काठमाडौ ।
छोटो समयमा विश्वमानै तिब्र रुप लिएको ३२ औं विश्व एड्स दिवस डिसेम्बर १ मा ‘एच.आई.भी. को नियन्त्रणमा समुदायको प्रभावकारी भूमिका’ भन्ने मूल नाराका साथ मनाईदै छ ।

विश्वमा नै जनचेतना र एआरभी औषधिको प्रयोगका कारण एचआईभी संक्रमणमा कमी आएको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले शनिवार टेकूमा संचारकर्मीहरुसँगको अन्र्तक्रिया कार्यक्रमको आयोजना गरि जानकारी गराएको हो ।

केन्द्रका निर्देशक डा.अनुज भट्टचनका अनुसार नेपाल सरकारले अहिले ४९ जिल्लामा एचआईभी संक्रमितलाई निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमबाट सुविधा दिन शुरु भैसकेको छ । उहाँ भन्नुहुन्छ–औषधि सरकारले निःशुल्क दिन्छ समुदायले एचआईभी संक्रमितलाई हेयको दृष्टिले हेर्ने नभै त्यस्ता व्यक्तिलाई स्थापित गर्ने दायित्व समुदायको हो । एचआईभी संक्रमण पनि उपचार गरे नियन्त्रणमा राख्न सकिने सुगर, प्रेसर जस्तै रोग हो र अकाल मृत्यु टर्छ ।

एचआईभी संक्रमितलाई लान्छना र विभेद् हटाउन सकेमात्र औषधिले काम गर्छ । विश्वले नै एचआईभी संक्रमितका लागि सजिलो र भरपर्दो औषधि पत्ता लगाई सकेको अवस्थामा नेपालीहरुले संकुचित भावनाले बिरामीलाई नहेर्न समेत डा.भट्टचनले आग्रह गर्नुभयो । उहाँले एआरभी औषधि खाएकाबाट एचआईभी संक्रमण हुँदैन र यो औंषधिको प्रभावकारित ९१ प्रतिशत रहेको बताउनुभयो ।

सन् २०१८ सम्म विशवमा ३ करोड ७९ लाख व्यक्तिमा एचआईभी संक्रमण भएको अनुमान गरिएको छ भने नेपालमा २९ हजार ९ सय ४४ जनामा एचआईभी संक्रमण भएको अनुमान गरिएको तथ्यांक केन्द्रले सार्वजनिक गरेको छ । जसमा पुरुष १७ हजार ७ सय ३२ र महिला १२ हजार २ सय १२ जना रहेका छन् । नेपालमा झण्डै ७६ प्रतिशत एचआईभी संक्रमण असुरक्षित यौन सम्पर्कको माध्यमबाट सरेको पाईएको केन्द्रले जनाएको छ ।

नेपालको कुल जनसंख्याको १ प्रतिशत भन्दा कममा एचआईभी संक्रमण रहेको छ । नेपालमा एचआईभी संक्रमणको उच्च जोखिममा रहेका समूहहरुमा सुईद्धारा लागुपदार्थ प्रयोगकर्ता, यौनकर्मी, पुरुष समलिंगी तथा तेस्रोलिंगीहरु, रोजगारीका लागि बिदेशिनेहरु र जेलका कैदीहरु रहेका छन् । विश्वको तथ्यांक अनुसार सन् २०१० देखि सन् २०१८ सम्ममा १६ प्रतिशतले नयाँ संक्रमितको दरमा कमी आएको छ । यसमा ४१ प्रतिशतमा बच्चामा हुने संक्रमण दरमा कमी आएको छ ।

विश्वमा सन् २००४ मा सबै भन्दा बढी एचआईभी संक्रमितको मृत्यु भएको बर्षका रुपमा चिनिन्छ भने सन् २०१८मा पुग्दा एचआईभी संक्रमितको मृत्युदर ५६ प्रतिशतले घटेको जनाईएको छ । सन् २०१८मा विश्वका २ करोड ३३ लाखले एआरभी उपचार पाईरहेका छन् । जसमा सन् २०१९ जुलाई सम्म १७ हजार ९ सय ८७ जना नेपालीले एआरभी उपचारमा रहेका छन् ।

सन २०२० सम्म संक्रमितहरुले आफ्नो संक्रमण अवस्थाबारे ९० प्रतिशतले थाहा पाउने, ती मध्ये ९० प्रतिशतलको औषधि उपचारमा महुाच हुने र ती औषधि खानेहरु मध्ये ९० प्रतिशतको शरीरमा भाइरसको भार न्यून भएको हुनेछ । यसका लागि केन्द्रले प्रदेश सरकार र स्थानिय सरकारसँग सहकार्य, सहयोग र समन्वय गर्दै आईरहेको डा.भट्टले जानकारी गराउँनुभयो ।

केन्द्रको तथ्यांक अनुसार एचआईभी संक्रमितको संख्या सबै भन्दा बढी प्रदेश नं ३ को काठमाडौमा रहेका छन् । प्रदेश नं ३ मा ६ हजार ४ सय ६६ जना एचआईभी संक्रमित रहेकोमा काठमाडौमा मात्र ३ हजार ३ सय २३ जना रहेका छन् ।

जसमा पुरुष २ हजार २ सय ४०, महिला १ हजार ८३ र बच्चा १ सय १३ जना रहेका छन् । सबै भन्दा थोरै एचआईभी संक्रमित रहेको प्रदेश कर्णाली रहेको छ । कर्णालीमा ६ सय ९७ जना रहेका छन् । त्यसमा पनि सबैभन्दा थोरै संख्या रहेको जिल्ला डोल्पा रहेको छ । डोल्पामा जम्मा १३ जनामा ६ जना पुरुष, ६ जना महिला र १ जना बच्चा रहेका छन् ।