दार्चुलामा सरकारविरुद्ध कांग्रेसको विरोध र्‍याली

0
Shares

किरन धामी, दार्चुला ।

भारतले नेपाली भुमी कालापानी, लिपुलेक र लिम्पीयाधुरालाई समेटेर सार्वजनिक नयाँ नक्साको विषयलाई लिएर देशै भर विरोध प्रर्दशन भैइरहेका बेला सरकार मौन रहेको विरोधमा नेपाली कांग्रेस जिल्ला कार्य समिति दार्चुलाले ¥याली निकालेर विरोध गरेको छ । भारतले मिचेर लगेको नेपाली भुमी फिर्ता ल्याउने विषयमा वर्तमान सरकारले कुनै पहल नगरेको भन्दै कांग्रेस दार्चुलाले विरोध र्‍याली र विरोध सभा गरेर विरोध जनाएको हो ।

भारतले मिचेको नेपाली भुमी कालापानी, लिपुलेक र लिम्पीयाधुरा फिर्ता ल्याई नेपाली सेना, सशस्त्र प्रहरी बल, र नेपाल प्रहरीको ब्राह्रै महिना उपस्थिती गराउन सरकार संग माग समेत गरेको छ । कांग्रेसले विहान १ घण्टा खलंगा बजार बन्द गरी र्‍याली र विरोध सभा गरेको हो । नेपाली कांग्रेस पार्टी कार्यालय खलंगाबाट सुरु भएको विरोध र्‍याली बसपार्क, विच बजार परिक्रमा गर्दै पुलघाटमा विरोध सभामा परिणत भएको थियो ।

भारतले मिचेको नेपाली भुमी फिर्ताको माग गर्दै देशैभरी प्रदर्शन भैइरहेका बेला वर्तमान सरकारले भुमी फिर्ताको विषयमा कुनै पहल नगर्दा सरकारको मौनता विरुद्ध दबाव स्वरुप विरोध प्रदर्शन गरेको नेपाली कांग्रेस जिल्ला कार्य समिति दार्चुलाका सभापती ललित सिंह बोहराले जानकारी दिनुभयो ।

विरोध र्‍याली सिमा विवाद कुटनितिक तवरले समाधान गर, कालापानीमा राज्यको उपस्थिति गर, गो ब्याक ईण्डिया लगायतका नारा लगाइएका थिए । साथै नेपाली कांग्रेस दार्चुलाले निर्माणधिन दार्चुला तिंकर सडकको निर्माण कार्यमा तिव्रता दिनु पर्ने, तिंकर नाका खोली त्रिदेशीय व्यापार संचालन गर्न सरकार संग जोडदार रुपमा माग गरेको छ । विरोध र्‍याली नेपाली कांग्रेसका जिल्ला स्तरीय नेता कार्यकर्ता, तरुण दल, नेवि संघ, महिला संघ लगायतको सहभागिता रहेको थियो । यसैविच राष्ट्रिय जनमोर्चाले समेत मोटरसाइकल र्‍याली निकालेर नेपाली भुमी फिर्ताको माग गरेको छ ।