मनाङको माथिल्लो भेगमा हिउँ पर्न सुरु

0
Shares

न्युज अफ नेपाल, मनाङ ।

मनाङको माथिल्लो भेगमा हिउँ पर्न थालेको छ । बिहीबार साँझपख हिमालको क्षेत्र हुँदै बस्तीसम्म हिउँ परेको स्थानीयले बताएका छन् । माथिल्लो मनाङको थोराङला फेदी, याकखर्क हुँदै, मनाङ गाउँसम्म हिउँ परेको थियो ।

पर्यटन व्यवसायी समिति मनाङका अध्यक्ष विनोद गुरुङले केहीबेर हिउँ परेको र सुकेको बताए । ‘एकछिन हिउँ परेको थियो । परेको हिउँ सुकेको छ । जमेको छैन’ उनले भने । हिउँ परेपछि धुलो मारेको उनले बताए ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका संरक्षण कार्यालय मनाङका पर्यटन सहायक ब्रिजबहादुर गुरुङका अनुसार केही परे परेको हिउँले चिसो बढाएको छ । ‘केहीबेर हिउँ मज्जैसंग पर्‍यो । धुलो उडेको ठाउँमा चिसो भएर राम्रो भएको छ । यतिको हिउँले पर्यटक र स्थानीयलाई प्रभाव भने पार्दैन’ उनले भने ।

बिहीबार ३ हजार ५ सय मिटर उचाईसहित माथिल्ला क्षेत्रमा हिउँ परेको हो । मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङका याङडुङ गुरुङका अनुसार डाँडाकाँडा ढाकिने गरी हिउँ परेको छ । बस्तीमा छिटफुटमात्रामा आएको छ । प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले मनाङको माथिल्लो क्षेत्रमा हिउँ पर्न थालेको बताए । बिहीबार बिहान केही बेर चामेमा पनि सामान्य हिउँ परेको थियो । माथिल्लो क्षेत्रमा हिउँ पर्न थालेपछि तल्लो क्षेत्रमा जाडो बढेको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार ५ हजार ४ सय १६ मिटर उचाईको थोराङला भञ्ज्याङमा सामान्य हिउँ परेको छ ।

यस्तै, ४ हजार ९ सय १९ मिटर उचाईमा रहेको तिलिचो ताल क्षेत्रमा पनि हिउँ पर्न थालेको छ । मानिस हिँड्न मिल्ने भएकाले ती क्षेत्रमा भने पर्यटक गइरहेको उनीहरुले बताएका छन् । ‘सामान्य हिउँ पर्दा पर्यटक रमाउँछन् । पर्यटक रमाउने यतिबेला हो’ स्थानीयले भने ।