सेना र प्रहरीको नक्कली कागजात बनाउने गिरोह पक्राउ

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धन ब्यूरो (सीआईबी) ले सेना र प्रहरीको नक्कली कागजात बनाएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुंगा रानीवन गाउँपालिका– ७ का सविनकुमार तोलांगी, चितवन रत्ननगर नगरपालिका– १६ का अमृत सुर्खेती र धादिङको नीलकण्ठ नगरपालिका– ९ का मधुसुदन दवाडी रहेका छन् ।

प्रहरी र सेनाको नक्कली सिफारिसपत्र, नक्कली पुलिस रिपोर्ट, विभिन्न विद्यालय र क्याम्पसका शैक्षिक प्रमाणपत्रसहित बिहीबार पक्राउ परेका उनीहरुलाई सीआईबीले शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

पक्राउ परेका तीन जना मध्ये सुर्खेतीले सिनामंगलमा स्टार डिजिटल फोटो स्टुडियो सञ्चालन गर्छन् भने दवाडीले बसुन्धरामा दुवाडी डिजिटल फोटो स्टुडियो सञ्चालन गरेका छन् । दुई जनालाई आ( आफ्नै फोटो स्टुडियोबाट नियन्त्रणमा लिएको प्रहरीले जनाउको छ ।

पक्राउ परेका सुर्खेतीको साथबाट प्रहरीले सशस्त्र प्रहरी बलको विशेष कार्यदल गण हलचोकको स्पेसल टाक फोर्स, सुरक्षा तालिम, तालिम, हतियार तालिम, विशिष्ट व्यक्तिको सुरक्षा तालिमको ४ वटा प्रमाणपत्र, जोरपाटीको चामुन्डा माविको मार्कसिट, रिदी माविको चारित्रिक प्रमाणपत्र अस्फोडेल पब्लिक स्कुल, माइलस्टोन इन्टरनेशनल कलेजको शैक्षिक प्रमाणपत्र, विभिन्न व्यक्तिको राहदानी र नेपाली सेनाको सिफारिसपत्र बरामद गरेको छ ।

यस्तै दवाडीको साथबाट पुलिस रिपोर्ट, प्लस टुको ट्रान्सकिप्ट, माइग्रेसन सर्टिफिकेट र शान्ति विद्यागृह विद्या गृह उच्च मावि लैनचौरको खाली सर्टिफिकेट बरामद गरेको छ ।

ओखलढुंगाका तोलांगीलाई भने प्रहरीले गोंगबु टाउन प्लानिङबाट पक्राउ गरेको हो । तोलांगीको साथबाट महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र कालिमाटीको सिफारिस पत्र, महानगरीय प्रहरी वृत्तको खाली लेटरप्याड, जिल्ला प्रशासन कार्यालय लमजुङबाट जारी भएको नागरिकता, तनहुँबाट जारी भएको नागरिकता र आन्तरिक राजस्व कार्यालयको स्थायी लेखा नम्बरको प्रमाणपत्र बरामद गरेको सीआईबीले जनाएको छ ।

उनीहरुलाई लिखतसम्बन्धी कसूर मुद्दामा अनुसन्धान सुरु गरिएको सीआईबीले जनाएको छ।