बैंकिङ क्षेत्रको विश्वसनियतामाथि प्रश्न

0
Shares

परिवर्तन देवकोटा, काठमाडौं।

पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रमा सञ्चालन जोखिम बढेको छ। प्रविधिको प्रयोगमा व्यापकता आउँदै गर्दा यसबारे पनि जोखिम बढ्दै गएको हो।सोमबार नक्कली हस्ताक्षर गरी खातावालको खाताबाट रकम लुट्ने गिरोह सार्वजनिक भएसँगै यसबारे थप चुनौती थपिएको महशुस भएको बैंकरहरू बताउछन्।

चेक भुक्तानीका लागि ग्राहकसँग सिधा सम्पर्क गर्ने, एसएमएस गर्ने अथवा अन्य कुनै सुरक्षित विकल्प छनोट गरी प्रयोगमा ल्याउनुपर्नेमा जोड

सोमबार जनता बैंकलगायतका विभिन्न बैंकबाट खातावालाको नक्कली हस्ताक्षर गरी २० लाखभन्दा बढी रकम लुटेपछि बैंकिङ क्षेत्रमा एक किसिमको तरङ पैदा भएको छ। गत असारमा मात्रै एटीएम ह्याकिङ गरी रकम लुट्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको थियो।

सेवाग्राहीमा आफ्नै
रकम लुटिएको त्रास

एकपछि अर्को गर्दै बैंकबाट रकम चोरिएपछि बैंकमाथिको विश्वसनियता र सुरक्षामा प्रश्न उठेको छ। निक्षेपकर्ताहरू आफूको नै रकम लुटिएको आशंकामा चिन्तित बनेका छन्।

कहिले एटीएमबाट रकम चोरिएको छ, कहिले चेकबाटै, यस्तो अवस्थामा बैंकलाई कसरी विश्वास गर्ने ? एक सेवाग्राहीले नेपाल समाचारपत्रसँग गुनासो गरे। एटीएम प्रक्ररणबारे छानबिन चलिरहँदा चेकबाटै रकम लुटिएपछि निक्षेपकर्ताहरू सशंकित भएका हुन्।

चेक निकाल्दा पनि एसएमएस हुनुपर्छ

नेपालमा रहेका हरेक बैंकले अहिले एसएमएस सेवा सुचारू गरेका छन्। आफ्नो खातामा रकम जम्मा भएको र रकम निकालेको अलर्ट सेवाग्राहीले तुरून्त एसएमएसमार्फत प्राप्त गर्ने व्यवस्था बैंकहरूले मिलाएका छन्। यसो हुँदा खाताबारे सेवाग्राही जानकार रहिरहन्छन्।

यद्यपि, सुरक्षालाई मध्यनजर गर्दै चेकबुक भुक्तानीबारे पनि एसएमएस सेवा सुचारू गर्न बैंकिङ विज्ञ अनलराज भट्टराईले बैंकहरूलाई सुझाव दिनुभयो।नेपाल समाचारपत्रसँग कुरा गर्दै उहाँले बैंकहरूले चेक भुक्तानीका लागि ग्राहकसँग सिधा सम्पर्क गर्ने, एसएमएस गर्ने अथवा अन्य कुनै सुरक्षित विकल्प छनोट गरी प्रयोगमा ल्याउनुपर्नेमा जोड दिनुभयो।

उहाँले पछिल्लो समय बैंकहरू शाखा विस्तार गर्ने ध्यानमा रहँदा सेवाको गुणस्तरमा ध्यान कम दिएको जस्तो पाइएको बताउनुभयो। उहाँले भन्नुभयो–‘बैंकहरू शाखा विस्तारमा केन्द्रित भए, कर्मचारीमा पनि आवश्यक सीप सिकाइएन,’ उहाँले थप्नुभयो, ‘सोमबारको घटनाबाट बैंकहरूले सेवाको गुणस्तर वृद्धि गर्नतर्फ ध्यान दिनुपर्ने कुरा सिक्नुपर्ने देखिएको छ।’ उहाँले बैंकलाई आफ्ना नयाँ तथा पुराना कर्मचारीलाई आवश्यक सीप सिकाउन कञ्जुसाईं नगर्न समेत आग्रह गर्नुभयो।

उहाँले अहिले नै धेरै ठूलो घटना घटिनसकेको बताउँदै घटना घट्ने प्रवृति भने बढेको बताउनुभयो। सेवाग्राहीले समेत आफ्नो खाता र खातामा भएको रकमबारे २÷३ दिनमा जानकारी लिइरहनुपर्नेमा जोड दिनुभयो।

यस्तै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकेशरी शाहले सोमबारको घटनापछि बैंकहरू अझै चनाखो हुनुपर्ने अवस्था आएको बताउनुभयो। नेपाल समाचारपत्रसँग कुरा गर्दै उहाँले अहिले पनि बैंकले सञ्चालन जोखिमबारे कमिटी नै बनाएर यसको जोखिम कम गर्न लागिपरेको बताउँदै अब झनै चनाखो भएर काम गर्नुपर्ने उल्लेख गर्नुभयो।

बैंकहरूले जोखिम व्यवस्थापनका लागि हरसम्भव कोसिस गरिरहने बताउँदै यस्तो जोखिमको व्यवस्थापन गर्न अझै सशक्त भएर लाग्नुपर्नेमा जोड दिनुभयो। उहाँले सेवाग्राहीको रकम कुनै हालतमा नलुटिने दाबी गर्दै सेवाग्रँहीलाई निश्चिन्त हुन आग्रह गर्नुभयो।

उहाँले भन्नुभयो–‘बैंकमा जस्तोसुकै घटना घटे पनि सेवाग्राहीको रकम खेर जाँदैन, बरू बैंक घाटामा जान सक्छ, सेवाग्राहीको केही हुँदैन।’ यस्तै नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बैंकहरूले सुरक्षा क्षेत्रमा थप सशक्त बन्नुपर्नेमा जोड दिनुभयो।

नेपाल समाचारपत्रसँग कुरा गर्दै उहाँले भन्नुभयो–‘बैंकिङ क्षेत्रमा पछिल्ला समय जुन घटना घटिरहेका छन्, त्यसबाट बैंकहरूले पाठ सिक्नुपर्छ।’ उहाँले अनाधिकृत मानिसबाट अनाधिकृत तरिकाले रकम निकालेको पाइएकाले यस्तो अवस्थामा बैंकहरू आफैं जोगिनुपर्ने उल्लेख गर्नुभयो। उहाँले ग्राहकको निक्षेप जुनसुकै हालतमा सुरक्षित रहने जानकारी दिँदै यस्ता घटना छिटपुट हुने गरेको र यसबाट निक्षेपकर्ता आत्तिनुनपर्ने उल्लेख गर्नुभयो।