दोलखाको अकबरे खुसार्नी कतारमा

0
Shares

दोलखा, (नेस)।

पछिल्लो समय कृषि उत्पादनमा फड्को मारेको दोलखाले अकबरे खोर्सानी कतारमा निर्यात (निकासी) गर्न थालेको छ। यो वर्ष दोलखाबाट ५८ केजी अकबरे खोर्सानी निर्यात भएको भीमेश्वर अर्गानिक एग्रीकल्चर एन्ड रिसर्च प्रालिका अध्यक्ष भोला खतिवडाले बताउनुभयो।

भीमेश्वर अर्गानिक एग्रीकल्चर एन्ड रिसर्च प्रालिले दोलखाको भीमेश्वर नगरपालिका–६ मा रहेको १ सय रोपनी क्षेत्रफल जमिनमा अकबरे खोर्सानीसँगै विभिन्न मौसमी तथा बेमौसमी तरकारी, किवी, एभोकार्डाेलगायतका फलफूलहरू अर्गानिक विधिबाट उत्पादन गर्दै आएको छ।

खाडी क्षेत्रमा हरियो अकबरे खुर्सानीको धेरैे माग रहेको बुझिएकोले कतारमा ताजा अर्गानिक तरकारी निकासी गरिरहेको अल समन कम्पनीमार्फत खुर्सानी निकासी गर्न शुरू गरिएको खतिवडाको भनाइ छ।

रिसर्च प्रालिले किवि, एभोगार्डोलगायतका फलफूल उत्पादनमा लामो समय लाग्ने भएकोले खाली रहेको जमिनमा रासायनिक मलको प्रयोग नगरी अकबरे खोर्सानी उत्पादन गर्दै आएको खतिवडाले बताउनुभयो।

स्थानीय बजारमा प्रति केजी ३ सय रुपियाँसम्ममा बिक्री वितरण हँुदै आएको अकबरे खोर्सानीको उत्पादन बढाउन सकिए खाडी मुलुकमा राम्रो मूल्यमा बिक्री गर्न सकिने खतिवडाको दाबी छ। तर त्यसरी उत्पादन गरिएको अकबरे खोर्सानी विशुद्ध अर्गानिक हुनुपर्ने अध्यक्ष खतिवडा बताउनुहुन्छ।

रिसर्च प्रालिले आगामी दिनमा अल समनसँग सम्झौता गरी दोलखालगायतका ठाँउका सर्वसाधारण किसानले उत्पादन गरेको अकबरे खुर्सानी खरिद गरी ठूलो परिणाममा निर्यात गर्ने योजना बनाएको अध्यक्ष खतिवडा बताउनुहुन्छ।

अकबरे खुर्सानीलाई बोटमा रातो बनाएर राख्दा किराको संक्रमण बढ्ने खतरा रहने तर हरियोमानै टिप्दा भने किराले खासै दुःख नदिने तथा उत्पादन पनि छिटै हुने भएकोले हरियो अकबरेको व्यवस्थितरूपमा निकासी गर्न सके सर्वसाधारण किसानलाई ठूलो लाभ मिल्न सक्ने प्रालिले जनाएको छ।