मुसाफिर



परिवर्तन देवकोटा

अग्लो हिमाल पनि त
रातो रविको स्पर्श पाउनका निम्ति
बिताउन बाध्य हुन्छ
–त्यो अँध्यारो
–डरलाग्दो रात
गर्दछ कठिन सामना
तड्पन्छ निरन्तर निरन्तर
चाँदनी,
लभ डाँडाको अगाडि
एउटा मुसाफिर
त्यो पारिपट्टिको माछापुच्छ्रे जस्तै गरी
–तिम्रो न्यानो स्पर्श
–कोमल साथ पाउन पर्खिरहेछ,
–प्रेमको मौन स्पर्श
अविच्छिन्न यादहरूमा पग्लिरहेको हिमाल त
भोलिपल्टको मिर्मिरेमै गर्छ
–रातो न्यानो रविको स्पर्श
थाहा छैन,
कहिले बन्न सक्छ एउटा हिमाल
अनि महसुस गर्छ
–प्रेमको न्यानो आभा
–कोमल स्पर्श
–मायाले ओतपोत रात
एउटा न्यानो किरण
जसले पगाल्न सकोस् हिमाल
बनाओस् फेवा जस्तै गहिरो
मायाको ताल,
डुबाओस् कहिल्यै नउत्रने गरी
एक मुसाफिर
तिम्रो मायाको गहिरो तालभित्र हराई
बाँच्न खोज्दै छ
–ज्यानमारा मुस्कानमा रमाएर।

प्रतिक्रिया दिनुहोस्