योजनाबद्ध विकासलाई अघि बढाउँछु: मन्त्री नेम्वाङ 


फिदिम ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले विकास निर्माणलाई योजनाबद्ध रुपमा अघि बढाइने बताउनुभएको छ । पूर्वाधार निर्माणमा छिटोभन्दा छिटो उल्लेख्य प्रगति आवश्यक रहेको भन्दै उहाँले यसका लागि योजनाबद्ध रुपमा विकास गरिने उल्लेख गर्नुभयो ।

मन्त्री नियुक्त भएपछि पहिलो पटक गृह जिल्ला पाँचथर आउनुभएका मन्त्री नेम्वाङले कार्यकर्तासँगको भेटघाटमा उहाँले सानादेखि ठूलासम्म योजना अघि बढाउने दायित्व आफ्नो भएको बताउनुभयो ।

नागरिकको सहजतालाई प्राथमिकतामा राखेर काम अघि बढाइने उहाँले स्पष्ट पार्नुभयो । मन्त्री नेम्वाङले भन्नुभयो, “नागरिक र पार्टीको अपेक्षा तथा दिशा निर्देशअनुसार कुनै कसर बाँकी नराखी कामलाई अघि बढाउँछु ।”

सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अभिभारा पूरा गर्न धेरै चुनौती र अप्ठ्यारा रहेको बताउँदै मन्त्री नेम्वाङले उक्त कार्यमा सरकारलाई सहयोग गर्न आग्रह गर्नुभयो ।