टेलिकमले प्रिपेड सिम निःशुल्क उपलब्ध गराउने   


न्युज अफ नेपाल, काठमाडौँ ।
नेपाल टेलिकमले राष्ट्रिय वाणिज्य बैंकमा नयाँ खाता खोल्ने ग्राहकलाई जीएसएम प्रिपेड मोबाइल सिम निःशुल्क उपलब्ध गराउने भएको छ ।

नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकबीच आज उक्त सेवासम्बन्धी सम्झौता भएको टेलिकमले विज्ञप्तिमार्फत जनाएको छ । बैंकले मुलुकभरका २३८ वटै शाखाबाट नयाँ खाता खोल्ने ग्राहकलाई कम्पनीको सिम निःशुल्क उपलब्ध गराउने छ । सो सिममा रु ५० टक भ्यालुसमेत हुनेछ ।

सो अवसरमा टेलिकमले मुलुकको सबभन्दा ठूलो दूरसञ्चार कम्पनी र सबैभन्दा बढी वित्तीय सञ्जाल भएको राष्ट्रिय वाणिज्य बैंकबीचको सहकार्यले दुवै संस्थाको व्यवसाय अभिवृद्धि हुनुका साथै कार्यक्षमतामा समेत बढोत्तरी हुने जनाएकाे छ । टेलिकमले दुई संस्थाको सहकार्यबाट डिजिटल अर्थतन्त्र निर्माणका लागि प्रभावकारी वातावरण बन्नुका साथै मुलुकभरका जनता वित्तीय पहुँचमा पुग्ने छ ।

दुई करोडभन्दा बढी ग्राहक सङ्ख्या भएको नेपाल टेलिकम र ३० लाख बढी सेवाग्राही भएको राष्ट्रिय वाणिज्य बैंकबीच भएको यो सम्झौताले आम सेवाग्राही वित्तीय र प्रविधिगतरुपले निकै लाभान्वित हुने टेलिकमले जनाएकाे छ ।