सवारी दुर्घटनामा परी दुईकाे मृत्यु


न्युज अफ नेपाल, काठमाडौं ।

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–५ पुरानो ठिमीमा बा १२ च ५६४० नम्बरको पानी बोक्ने गाडीले ठक्कर दिँदा सिन्धुपाल्चोक बाह्रबिसे घर भई हाल मध्यपुर ठिमी नगरपालिका–६ पुरानो ठिमी बस्ने २५ वर्षीया ज्योती मगरको बिहीबार बिहान मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारको लागि मध्यपुर अस्पताल ठिमी लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चितवनको राप्ती नगरपालिका–७ खुरखुरेमा ना ६ ख १४४ नम्बरको ट्रक र ना १४ प १६३ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका–६ बस्ने २१ वर्षीय बिवेक चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।

मोटरसाइकल चालक सोही ठाउँ बस्ने २२ वर्षीय पृथ्वी कुँवर घाइते भएकोले उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुरतर्फ पठाइएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।