अर्घाखाँची बस दुर्घटना: मृत्यु भएका १९ को सनाखत, मुख्य मन्त्रीद्वारा शोक वक्तव्य जारी 

0
Shares

यमलाल भुसाल, बुटवल ।

बुधवार अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानीमा बस दुर्घटनामा ज्यान गुमाएका सबै १९ जनाको सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले दिएको जानकारी अनुसार सन्धिखर्कबाट बुटवलका लागि छुटेको लु २ ख २१४८ नम्बरको बस दुर्घटनामा परि मृत्यु हुनेहरुमा कपिलवस्तु बाँसगढीका बस चालक ३६ वर्षीय ओमबहादुर थापा, सन्धिखर्क ७ डिहीडाँडाका ५६ वर्षीय शिवलाल भट्टराई, सोही ठाउँकी २२ वर्षीया माया पुरी, सोही ठाउँका ५४ वर्षीय बलराम भट्टराई, बस धनी शितगंगा नगरपालिका २ झिर्राका ३७ वर्षीय सन्त बहादुर बस्नेत र सोही ठाउँकी २७ वर्षीया सीता बस्नेत रहेका छन् ।

यसैगरि कपिलवस्तुको वाणगंगा नगरपालिका ७ बनगाई बस्ने ३ महिनाको बालक शोभाखर पोखेरल, अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ७ बस्ने सिता कुमारी नेपाली, भुनपा ९ कि ५० वर्षीय सिता घिमिरे, भुनपा ९ कि ५० वर्षीय बिष्णु माया गैरे, भुनपा ७ का ५१ वर्षीय मेघनाथ भण्डारी, शितगंगा नगरपालिका १ बस्ने १५ वर्षीय मन्जु बिक, अर्घाखाँचीको छत्रदेव गाउँपालिका ८ का ४२ वर्षीय कृष्ण बहादुर सुनार, शितगंगा नगरपालिका ७ कल्लेरी बस्ने ४८ वर्षीय लोक बहादुर दर्जी, सोहि ठाउँका ५५ वर्षीय हरि बहादुर दर्जी रहेका छन् ।
त्यस्तै सन्धिखर्क नगरपालिका ७ की अन्दाजी ८ वर्षीया बालिका मनिका खड्का, भूमिकास्थान नगरपालिका ९ ठूलोडेवाका २७ वर्षीय शैलेस थापा, सन्धिखर्क नगरपालिका १० का छबिलाल गैह्रे, गुल्मी धुर्कोट २ घर भई हाल रुपन्देहीमा कार्यरत सशस्त्र प्रहरी जवान राजकुमार महत रहेका प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि १८ जना घाईते भएकामा १ जना सामान्य १जना उपचारपछि घर फिता १ जना काठमाण्डौ रिफर ८ जनाको भैरहवा मेडिकल कलेजमा र ७ जनाको चौहारा अस्पताल बुटवलमा उपचार भैरहेको प्रहरीले जनाएको छ । यसैबीच अर्घाखाँचीको सन्धिखर्कमा बुधवार दिउँसो बस दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ् । बिहिबार शोक विज्ञप्ति जारी गदै दुर्घटनामा परी ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नु भएको छ ।

साथै, घाईतेको शिघ्र स्वास्थ्यलाभको कामना समेत गर्नु भएको छ । उहाँले सडकको क्षमताभन्दा धेरै यातायातका साधनको आवागमन, चालकको लापरवाही, सवारी साधनको अवस्था लगायत विविध कारणले दुर्घटना बढिरहेको उल्लेख गर्नु भएको छ । पहाडी क्षेत्रको कठिन भूगोलमा निर्माण गरिएका साँघुरा सडकमा तीब्र गतिमा गाडी हुइँकाउने प्रवृतिले पनि दुर्घटनाको जोखिम बढेको र दुर्घटनाको कारण पत्ता लगाएर यतिखेर सरकारले सडक विस्तारको कामलाई तीब्र बनाएको जनाउनु भएको छ ।