मुगुमा भालु आतंक, मौरी पालक कृषकलाई क्षति

0
Shares

नेपाल समाचारपत्र, मुगु।

छायानाथ रारा नगरपालिका–८ झ्यारी गाउँमा भालुले आंतक मच्चाउन थालेपछि स्थानीय त्रसित भएका छन्। रारा राष्ट्रिय निकुञ्जबाट निस्केका भालुले झ्यारी गाउँका मौरीपालक १३ जना किसानका मौरी घारको मह खाएपछि कृषकहरू मर्कामा परेका छन्।

१३ जना स्थानीयका ८०/९० मौरीका घार भालुले सखाप पारेको छ। भालुले मह मात्र खाएको छैन घार लोटाएर नष्टसमेत पारेको स्थानीय वीरबहादुर रावलले बताउनुभयो। उहाँका अनुसार आफ्ना १२ वटा घार थिए।

वर्षमा ७० हजार महबाट कमाउने र त्यसैबाट बालबच्चालाई कापी कलम र अन्य घर खर्च सञ्चालन गर्दै आएको भए पनि यो वर्ष भालुले सत्यानाश गरेको रावलले बताउनुभयो। वर्षभरी निकै दुःख गरी मौरीको स्याहार सुसार गरियो मह निकाल्ने समय नजिकिँदै गर्दा भालुले सत्यानाश गरेको रावलले दुखेसो गर्नुभयो।

दम, मुटु, पेट दुख्ने, मुखको गिजा सुनिएका बिरामीलाई महको सेवनले एकदमै राम्रो गर्ने गरेको भए पनि यो वर्ष घरेलु औषधीका लागि मह बाहिरबाट खरिद गर्नुपर्ने अवस्था आएको छ।

रारा घुम्न आउने पर्यटकलाई अर्गानिक महको स्वाद चखाउने गरेका भए पनि यो वर्ष मह भालुले खाएपछि रारा घुम्न आउने पर्यटकलाई पनि महबाट स्वागत गर्न नपाइने रावलको भनाइ छ।

गएको भदौ महिनामा निकुञ्जको भालुले स्थानीयवासीका तीन वटा गाईगोरु, दुई वटा घोडा मारिदिएको थियो। रारा राष्ट्रिय निकुञ्ज कार्यालयलाई गुहार मागेको भए पनि सुनुवाई नभएको र भालुले पटकपटक आंतक मच्चाउन थालेको स्थानीयको भनाइ छ।