टुँडिखेलभित्रका सामग्री हटाउन महानगरले निर्देशन


काठमाडौँ ।

टुँडिखेलभित्र अस्तव्यस्तरूपमा राखिएका निर्माण सामग्री हटाउन काठमाडौँ महानगरले निर्देशन दिने तयारी गरेको छ । ‘अकुपाइ टुँडिखेल’ का अभियानकर्मीको आग्रहमा आज कर्मचारीसहित टुँडिखेल अनुगमनमा जानुभएका उपप्रमुख हरिप्रभा खड्गीले निर्माण कम्पनीलाई सामग्री हटाउने निर्देशन दिने बताउनुभएको हो ।

काठमाडौँ महानगरले केही समयका लागि निर्माण सामग्री राख्न खाली ठाउँ दिएको थियो । “सामग्री राख्न दिइएको खाली ठाउँलाई ‘पार्किङ’ बनाएछन्”, उहाँले भन्नुभयो, “सबै सामग्री हटाएर चारै ठाउँमा ‘गेट’ लगाउँछौँ ।”

टुँडिखेलमा धरहरा पुनःनिर्माणका क्रममा निस्किएको माटो र भत्काइएको हुलाक सेवा विभागको सामग्री राखिएको छ भने रत्नपार्कमा वीर अस्पताल र दरबार हाइस्कुलको भवन निर्माणको सम्पूर्ण सामग्री राखिएको छ । निर्माण सामग्री राख्न दिइएको ठाउँलाई पार्किङ बनाएपछि खड्गीले खुला गर्न निर्देशन दिने बताउनुभएको हो ।

अस्तव्यस्तरूपमा राखिएको निर्माण सामग्रीका कारण सर्वसाधारणले सास्ती खेप्नुपरेको भन्दै अकुपाइ टुँडिखेल अभियानका अभियानकर्मीले विरोध गर्दै आएका छन् । उपप्रमुख खड्गीले छिट्टै टुँडिखेलमा राखिएका निर्माण सामग्री हटाएर खुला बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

रानीपोखरीमा डोजर लगाएकोमा आपत्ति

रानीपोखरी पुनःनिर्माणका क्रममा डोजर चलाएको भन्दै उपप्रमुख खड्गीले आपत्ति जनाउनुभएको छ । अनुगमनका क्रममा रानीपोखरी पुग्नुभएका खड्गी बिनाजानकारी सम्पदा क्षेत्रमा डोजर चलाएको भन्दै रुष्ट बन्नुभएको थियो ।

“राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुरानै शैलीमा पोखरी निर्माण गर्ने भन्ने कुरा मेरो जानकारीमा आएको थियो, तर पोखरीमा आउँदा डोजरले काम गरेको देख्दा दुःख लागेको छ”, उहाँले भन्नुभयो । भक्तपुरका महिलाले ढिला काम गरेको भन्दै उनीहरूलाई हटाएर सम्पदा क्षेत्रमा डोजर चलाउनु मूर्खता भएको उहाँको भनाइ थियो ।

“नेपालका ठूलाठूला घर हेर्न विदेशी आउँदैनन्, हामीले बनाएको पुराना ऐतिहासिक संरचना हेर्न आउने गर्छन् । ऐतिहासिकस्थलमै डोजर चलाएर आधुनिक प्रविधिमार्फत पुनःनिर्माण गर्नु आवश्यक छैन”, उहाँले भन्नुभयो ।

पोखरीमा रहेका पुरानो माटो हटाउन र कालो माटो राख्नका लागि ढुवानीको साधनका रूपमा डोजरको प्रयोग गरिएको प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धर बताउनुहुन्छ । “सम्पदा क्षेत्रलाई असर नगर्ने गरी प्राधिकरणको सहमतिमा डोजर चलाइएको हो”, उहाँले भन्नुभयो, “पोखरीमा पर्खाल लगाउनेलगायतका सम्पूर्ण काम हातले नै गरिएको हो ।”

हातबाटै पोखरीको पिँधमा कालो माटो राख्न असहज भएपछि डोजरको प्रयोग गरिएको उपभोक्ता समितिका सचिव रोशनकाजी मानन्धरले जानकारी दिनुभयो ।

विसं २०७२ को गोरखा भूकम्पले क्षति पु¥याएको रानीपोखरी उपभोक्ता समिति र पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरको पुनःनिर्माण सिएरतुलसी कन्स्ट्रक्सन जेभीले गरिरहेका छन् ।

टुँडिखेललगायत मिचिएका खुला ठाउँलाई खुलै राख्न दबाब दिने उद्देश्यले जनस्तरबाट तीन साताअघिबाट अकुपाइ टुँडिखेल अभियान सञ्चालन गरिएको हो । अभियानको शुरुआत मानव साङ्लोले टुँडिखेल घेराउ कार्यक्रम गरेका अभियानकर्मीहरू प्रत्येक शनिबार केही न केही कार्यक्रम गरी खुला ठाउँको महत्व दर्शाउने भन्दै लागिपरेका छन् ।
रासस