अर्घाखाँचीमा बस दुर्घटनाः ७ महिला सहित १८ को मृत्यु


यमलाल भुसाल, बुटवल ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा सन्धीखर्कबाट बुटवलका लागि छुटेको लु २ ख २१४८ नम्बरको बस दुर्घटना हुदाँ १८ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परि यो समाचार तयार गर्दासम्म १८ जनाको मृत्यु र एक दर्जन बढी घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले बताउनु भयो ।

प्रहरीका अनुसार दुर्घटनामा परि ११ जना पुरुष र ७ जना महिलाको मृत्यु भएको छ । मृत्यक मध्ये १ वालक र १ वालिका रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी नं. ५ बाहिनी रुपन्देहीमा कार्यरत सशस्त्र प्रहरी जवान राजकुमार महतको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटना स्थलमा १७ जना र १ जनाको ठाडामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यकको सनाखन हुन सकेको छैन । प्रदेश प्रहरी प्रमुख डीआईजी सुरेश विक्रम शाहका अनुसार सन्धीखर्कबाट बुटवलतर्फ आउँदै गरेको बस सडकबाट करिब चार सय मिटर तल खसेको छ ।

घाइते मध्ये दुई जनाको सन्धीखर्कमै उपचार भइरहेको छ भने अन्यलाई बुटवलतर्फ लगिएको छ । दुर्घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी तथा स्थानीयवासीले उद्धार गरेका थिए ।