पुलिस चन्द्रागिरि गोल्डकपको फाइनलमा

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

विभागीय टोली नेपाल पुलिस क्लब राजधानीमा जारी तेस्रो संस्करणको चन्द्रागिरि मेयर गोल्डकप ‘ए’ डिभिजन फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
मंगलबार भएको सेमिफाइनल खेलमा ब्रिगेड ब्वाइज क्लब (बीबीसी) लाई १–० ले पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो।

चन्द्रागिरि नगरपालिकास्थित नैकाप फुटबल मैदानमा पुलिसलाई उपाधि नजिक पुर्याउन कप्तान जुमानु राईले गोल गरेका हुन्। उनले खेल सकिन ११ मिनेट बाँकी रहँदा गरेको गोल नै निर्णायक बनेको थियो। योसँगै पुलिसले उपाधिका लागि एपीएफ र रुस्लान थ्रीस्टार क्लबको विजेतासँग शनिबार खेल्नेछ।

यो खेल आज हुँदै छ।
८१औं मिनेटमा कप्तान जुमानुले गोल गर्न सफल भएका थिए। भोला सिलवालको क्रसमा डिफेन्डर पदम भट्टराई र गोलरक्षकबीच तालमेल नमिलेको अवस्थामा पोस्ट नजिकै रहेका जुमानुले हेडमार्फत गोल गर्दै पुलिसलाई अग्रता दिलाए।

जुमानुको प्रयासलाई विदेशी खेलाडी बुसारीले बचाउने प्रयास गरे पनि सफल हुन सकेनन्। म्यान अफ द म्याच घोषित हुँदै उनले ५ हजार नगदसमेत प्राप्त गरे।
खेलमा बीबीसीले बलमा पकड बनाए पनि पुलिसको पोस्टमा आक्रमण बुन्न सकेन।

पुलिसले काउन्टर एट्याकमा मुभ बनाउँदै बीबीसीलाई दबाबमा राखे पनि पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। खेलको आठौं मिनेटमा भरत साहको प्रहार पोलमा लाग्दै बाहिरिँदा पुलिस अग्रता लिनबाट चुकेको थियो। १५औं मिनेटमा सौजन राईको प्रहार गोलरक्षक विशाल सुनारले बचाए। १९औं मिनेटमा सुमन लामाको प्रहारलाई गोलरक्षकले पञ्च गर्दै बचाइदिए।