सागको ओलम्पिक टर्च बोकेको टोली नेपालगन्जमा

0
Shares

नेपाल समाचारपत्र, बाँके।

१३औं दक्षिण एसियाली खेलकुद (साग) को ओलम्पिक टर्च र्याली नेपालगन्ज आइपुगेको छ। मंसिर ६ गते स्वयम्भुबाट निस्केर एक नम्बर प्रदेश हुँदै नेपालगन्ज आइपुगेको टर्च र्यालीका सहभागीलाई नेपालगन्ज रंगशालामा खेल पदाधिकारीहरूले स्वागत गरेका छन्।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष आतंक बस्नेत, मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका पूर्वउपाध्यक्ष नरेन्द्र थापाले टोलीलाई स्वागत गरेका थिए। भेट्रान खेलाडीहरू टर्च र्यालीको देश दौडाहामा रहेका छन्।

ओलम्पिक टर्च र्यालीले नेपालगन्ज रंगशाला परिक्रमा गरेको थियो। २५ करोड बढीको खर्चमा बनेको सुविधायुक्त रंगशालालाई एक फन्को मारेर टर्च र्याली बाहिरिएको थियो।

टर्च र्यालीमा जितबहादुर केसी, कान्छीमाया कोजु, ज्ञानबहादुर बोहरा, मुकुन्द श्रेष्ठ, टीकाराम श्रेष्ठ र राजकुमारी पाण्डे रहेका छन्।नेपालका लागि अन्तर्राष्ट्रिय पदक जित्ने पहिलो खेलाडी केसीले नेपालमा साग हुँदै छ भन्ने देशव्यापी प्रचारका लागि टर्च लिएर निस्केको बताउनुभयो।

धावक कोजुले देशभर नै सागको प्रचार होस् र नेपालले धेरैपटक जितोस् भन्ने कामनासहित र्याली निकालिएको बताउनुभयो।टर्च र्याली विराटनगर, जनकपुर, चितवन, लुम्बिनी, बुटवल, सुर्खेत हुँदै नेपालगन्ज आइपुगेको छ। अब धनगढी गएर पोखरा हुँदै काठमाडौं फर्किने केसीले जानकारी दिए। मंसिर १५ देखि २४ गतेसम्म नेपालमा १३औं साग हुँदै छ।