जेल पुगे एसिड छ्याप्नेहरु

0
Shares

हेटौंडा, (नेस)।

हेटौंडामा चर्चित एसिड प्रकरणका दुवै अभियुक्त मंगलबार जेलचलान भएका छन्। जिल्ला अदालत मकवानपुरका न्यायाधीश कमलराज बिष्टको एकल इजलासले दुवै अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।

एसिड प्रकरणमा मुख्य अभियुक्त भारतीय नागरिक दिलीपराज केशरी र उनका सहयोगी मानिएका सन्जय मण्डललाई भीमफेदी कारागार पठाईएको छ। प्रतिवादी केशरीका तर्फबाट अधिवक्ता युवराज वली, मण्डलका तर्फबाट अधिवक्ता मदनकुमार दाहाल र पीडितका तर्फबाट जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधीवक्ता हरिप्रसाद भट्टले थुनछेक बहस गर्नुभएको थियो।

करिब साढे ६ वर्षअघि एसिड प्रहार गरेर फरार भएका भारत महाराजगन्ज अमरपूर्वन वडा–६ बस्ने राज भनिने केशरीलाई प्रहरीले पक्राउ गरेको थियो। उनी रेडकर्नर नोटिसमा परेका अभियुक्त हुन्।

प्रहरीले केशरीलाई बाराको जितपुर सिमरा उपमहानगरपालिका–२३, भलोहीमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको थियो। निरन्तर खटिएको प्रहरी टोली केशरीलाई पक्राउ गर्न सफल भएको हो।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब निरीक्षक सागरशम्शेर जबरासहित विशेष टोलीले केशरीलाई पक्राउ गरेको थियो। बाराबाट पक्राउ गरेलगत्तै जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याइएको प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिनुभयो।