बाल साहित्य सर्जक कसजूको निधन

0
Shares

काठमाडौं, (नेस)।

अग्रज बाल साहित्य सर्जक एवं सूचना विज्ञ विनय कसजूको मेडिसिटी अस्पतालमा निधन भएको छ। निमोनियाका कारण गम्भीर बिरामी परेका कसजूलाई राजधानीको मेडिसिटी अस्पतालमा गत कात्तिक १९ गते भर्ना गरिएको थियो।

उपचारकै क्रममा मंगलबार दिउँसो २ बजे कसजूको निधन भएको अस्पतालले जनाएको छ।स्वास्थ्य अवस्था नाजुक भएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो। क्रिटिकल देखिएपछि आइसियूमा भेन्टिलेटरसहित उपचार गरिएकोमा ९ दिनपछि केही सुधार देखिएको थियो।

स्वास्थ्यमा सुधार आएपछि भेन्टिलेटर हटाइएको थियो। उहाँको स्वास्थ्यमा सुधार आएपछि उनका छोराहरू अमेरिका फर्केका थिए।को हुन् कसजू ?सामाजिक रेडियोका अभियन्ता कसजू सूचना आयोगका पहिलो प्रमुख आयुक्तसमेत हुनुहुन्थ्यो।

नेपाली भाषा, साहित्य, बालसाहित्य, पत्रकारिता र मानवअधिकार क्षेत्रमा लामो समय सक्रिय रहेका उहाँ पछिल्लो समय बाल साहित्यमा लेखन तथा सम्पादनमा सक्रिय रहनुभएको थियो।

बाल साहित्यतर्फ कसजूका ५० भन्दा बढी कृति प्रकाशित छन् भने सयौं बाल कृतिहरू सम्पादन गरिसक्नु भएको छ। प्रेस काउन्सिलका आमन्त्रित सदस्य र राष्ट्रिय समाचार समितिमा सञ्चालक समिति सदस्यसमेत रहेका कसजु ७२ वर्षको हुनुहुन्थ्यो।

पाल्पाको तानसेनमा जन्मिनुभएका उहाँको बाल्यकाल रिडीमा बितेको थियो। रिडीमा रहँनुहुँदा उहाँले २५ वर्षको उमेरमा प्रधानपञ्चको जिम्मेवारी सम्हाल्नुभएको थियो। उहाँले रिडीमै देउराली गाउँले भित्ते पत्रिकाको सुरुवात गर्नुभएको थियो। पछि यसैलाई उहाँले सामुदायिक पत्रिकाका रूपमा रूपान्तरण गर्नुभएको थियो।