सेनाको क्षमता बढाउन रुसले सहयोग गर्ने

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

रुसी महासंघले नेपाली सेनाको प्राविधिक क्षमता बढाउन सहयोग गर्ने भएको छ। रुसमा निर्मित हेलिकोप्टरको आपूर्ति बढाउन र सैन्य प्राविधिक क्षमता बढाउन सो मुलुकले चासो लिएको हो।

रुस भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगको भेटवार्ताका क्रममा रसियाली विदेशमन्त्री सर्गेइ लावरोवले सैन्य–प्राविधिक समन्वयबारेमा महत्वपूर्ण छलफल भएको बताउनुभएको छ।

औपचारिक भेटवार्तापछि सोमबार सञ्चारमाध्यमलाई सम्बोधन गर्दै लावरोवले सैन्य र रुसमा निर्मित विमान एवं एमआई १७ हेलिकोप्टर नेपाल निर्यात गर्नेबारेमा सम्झौता हुने बताउनुभएको हो।

तर, रुसको सहयोगमा सैन्य क्षमता अभिवृद्धि गर्ने योजनाबारे नेपाली सेनालाई औपचारिक जानकारी प्राप्त नभएको सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताउनुभयो। ‘हामीले पनि यस्तो खबर सञ्चारमाध्यममार्फत थाहा पायौं, हाम्रो आवश्यकताअनुसारको तालिम हो या अन्य सहकार्य मन्त्रीज्यू उता (रुस) बाट फर्किएपछि औपचारिक जानकारी आउला।’ –उहाँले भन्नुभयो।

परराष्ट्रमन्त्री ज्ञवाली रुसी समकक्षी लावरोवको मैत्रीपूर्ण निमन्त्रणामा मस्को भ्रमणमा पुग्नुभएको छ। विपत्पूर्वको सजकता, विपत् व्यवस्थापन, हवाई जहाज/हेलिकोप्टर पाइलट र अन्य सैन्य इन्जिनियरिङ विषयको प्रशिक्षणबारे दुवै मुलुकबीच छलफल भएको हुन सक्ने पाण्डेको ठहर छ। उहाँका अनुसार सेनाले अहिले रुसमा निर्मित चारवटा एमआई १७ हेलिकोप्टर प्रयोग गरिरहेको छ।

उच्च तौल क्षमताको कार्गो, अन्य सामग्री ढुवानी, प्याराजम्पलगायत बहुआयामिक प्रयोजनमा प्रयोग हुने यस्ता हेलिकोप्टर नेपाल जस्तो जटिल भूगोलको ६ हजार मिटरसम्मको उचाइमा सहजै उडान भर्ने क्षमता राख्छन्।

तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको कार्यकाल, २०६९ फागुन १४ को मन्त्रिपरिषद्को बैठकले नेपाली सेनालाई सो मोडलका हेलिकोप्टर खरिद गर्न स्वीकृत प्रदान गरेको थियो।

एमआई १७ हेलिकोप्टर नेपाली सेनाको हवाई क्षमता अभिवृद्धि गर्न, सैन्य तालिम, प्राकृतिक विपद्मा खोज, उद्धार तथा राहत वितरणजस्ता कार्यमा प्रयोग हुँदै आएको छ।

नेपालमा सञ्चालित निजी क्षेत्रबाट सञ्चालित सिम्रिकलगायत हेलिकोप्टर सेवा प्रदायक कम्पनीले पनि एमआई १७ मोडलका हेलिकोप्टर प्रयोग गरिरहेका छन्। रुसबाट नेपालले हवाईजहाज र हेलिकोप्टरका पार्टपुर्जा, विद्युतीय सामग्री, तामाका पाता, औद्योगिक कच्चा पदार्थ, खाने तेल, फलफूल जस्ता वस्तु आयात गर्दै आएको छ।

नेपालको ऊर्जा र जलविद्युत् क्षेत्रको विकासमा चासो राख्दै आएको सो मुलुकले पछिल्लो समयमा नेपालमा रहेको युरेनियम (रेडियोधर्मी) पदार्थ भण्डारको उत्खनन र खरिद गर्न कूटनीतिक पहल अघि बढाएको छ।

नेपालसँगको सहकार्य बढाउन रुसी राष्ट्रपति भ्लादिमिर पुटिन नेपाल भ्रमणमा आउन चाहनुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ।
रुस भ्रमणका क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले पुटिनलाई नेपाल भ्रमणको औपचारिक निम्तो हस्तान्तरण गर्नुभएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले ज्ञवालीमार्फत पुटिनलाई पठाउनुभएको निम्तो समकक्षी लावरोवमार्फत हस्तान्तरण गर्नुभएको मस्कोस्थित नेपाली दूतावासले जनाएको छ। साथै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना रुसी समकक्षी दिमित्री मेडभेदेलाई पठाउनुभएको नेपाल भ्रमणको निम्तो पनि हस्तान्तरण गर्नुभएको दूतावासले जनाएको छ।