प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिर

0
Shares

काठमाडौं, (नेस)। 

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था गम्भीर तर स्थिर रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन्। उहाँको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर भएकाले खतरामुक्त भने भइनसकेको चिकित्सकहरूले जनाएका छन्।

प्रधानमन्त्री ओलीको मंगलबार बिहान एपेन्डिसाइटिस फुटेर संक्रमण फैलिएपछि त्रिवि शिक्षण अस्पताल मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरमा लगी शल्यक्रिया गरिएको थियो।

उहाँलाई असह्यरूपमा पेट दुखेपछि मंगलबार बिहान चिकित्सकको सल्लाहअनुसार अस्पताल लगी परीक्षण गर्दा एपेन्डिसाइटिस फुटेर शरीरमा संक्रमण फैलिएको पत्ता लागेको हो।

समस्या पहिचानलगत्तै चिकित्सकको टोलीले उहाँको शल्यक्रियासहितको अन्य उपचार प्रक्रिया अगाडि बढाएका हुन्। शल्यक्रियापछि उहाँको स्वास्थ्य स्थिर रहे पनि खतरामुक्त भने भइनसकेको स्रोत बताउँछ।

डा. रमेशसिंह भण्डारी, डा. पलेस्वाँ लाखे जोशीलगायतको टोलीले ४५ मिनेटको अथक् प्रयासका बाबजुद्ध शल्यक्रिया सम्पन्न गरेका थिए। तर पनि प्रम ओलीको एपेन्डिसाइटिस फुटेर संक्रमण फैलिइसकेकाले थप गम्भीर अवस्था निम्त्याएको छ।

एपेन्डिसाइटिस फुटेर संक्रमण फैलिनु सामान्य व्यक्तिका लागि त खतरनाक हो भने प्रम त १२ वर्षअघि मृर्गौला प्रत्यारोपण गरी अहिले पुनः डायलासिस गरिरहेको व्यक्ति भएकाले थप खतराको विषय भएको चिकित्सकले जनाएका छन्।

प्रधानमन्त्रीको शल्यक्रियापछि अस्पतालले जारी गरेको विज्ञप्तिमा पनि सघन उपचारको सम्पूर्ण व्यवस्थासहितको निरन्तर निगरानीमा राखिएको उल्लेख गरिएको छ। विज्ञप्तिमा प्रधानमन्त्रीको एपेन्डिसाइटिससहितको पेटको संक्रमण (पेरिटोनिटिस) देखिएपछि तत्काल ल्यापेरोटोमी एन्ड एपेन्डिक्टोमी उपचार गरिएको जनाएको छ।

मंगलबार बिहान शल्यक्रिया सम्पन्न हुनासाथै प्रधानमन्त्री ओलीलाई इलेक्टिभ भेन्टिलेटर (कृत्रिम स्वासप्रस्वास) मा राखिएको थियो। चिकित्सकका अनुसार इलेक्टिभ भेन्टिलेटरमा राख्नुभनेको उहाँका अन्य अंगहरूले राम्रो काम गरिरहेको तर केही सपोर्ट आवश्यक परेकाले राख्नुपर्ने अवस्था आएको हो।