नागढुंगा सुरुङमार्ग आयोजना : सुरुङ खन्न नौ सय टन विस्फोटक पदार्थ आवश्यक

0
Shares

सुरेश तामाङ, काठमाडौं। 

बहुचर्चित आयोजनाका रूपमा रहेका नागढुंगा सुरुङमार्ग आयोजनालाई भारी मात्रामा विस्फोटक पदार्थको आवश्यकता परेको जनाएको छ। आयोजनाको सुरुङ निर्माण प्रयोजनका लागि विस्फोटक पदार्थ आवश्यकता परेको हो। सुरुङमार्ग निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले सुरुङ खन्ने प्रयोजनका लागि ९ सय टन विस्फोटक पदार्थ माग गरेको आयोजनाले जनाएको छ।

‘ब्लास्ट एन्ड ड्रिल मेथड’ अर्थात् विस्फोटन र खन्ने पद्धतिअनुसार सुरुङको कामका लागि भारी मात्रामा विस्फोटक पदार्थको माग भएको आयोजना प्रमुख श्यामप्रसाद खरेलले बताउनुभयो। ‘सुरुङ निर्माणका लागि भारी मात्रामा विस्फोटक पदार्थको माग छ। यसका लागि हामीले प्रक्रिया थालिसकेका छौं।

खरिद प्रक्रियामा सहमतिका लागि फाइल उठिसकेको छ।’ –उहाँले भन्नुभयो। आयोजनाले गएको हप्ता विस्फोटक पदार्थ माग भएबमोजिम फाइल उठाई प्रक्रियामा लगिसकेको छ।

आयोजनाको मागबमोजिम विस्फोटक पदार्थ खरिद गर्न प्रमुख जिल्ला अधिकारी संयोजक रहेको जिल्ला सुरक्षा समिति, गृह मन्त्रालय, रक्षा मन्त्रालय हुँदै नेपाली सेनासँग सहमति लिनुपर्ने प्रावधान रहेको छ।

सेनाले सहमति दिएपछि परराष्ट्र मन्त्रालयमार्फत भारतीय दूतावास हुँदै भारतका विभिन्न कम्पनी छनोट गरी विस्फोटक पदार्थ किन्ने तयारी निर्माण पक्षको रहेको आयोजना प्रमुख खरेलले बताउनुभयो। माओवादी विद्रोहका कारण विस्फोटक पदार्थ खरिदलाई कडाइ पार्दै सेनाको सहमति लिनुपर्ने अनिवार्य व्यवस्था छ।

यो व्यवस्थासँगै नेपाली सेनासँग भण्डारण भएको खण्डमा सेनासँग पनि खरिद गर्न सकिन्छ। तर, सुरुङ निर्माण कम्पनीले भने बाहिरैबाट खरिद गरी ल्याउने सोच बनाएको आयोजना प्रमुख खरेलले जानकारी दिनुभयो।

अहिले जिल्ला सुरक्षा समिति काठमाडौंले आयोजनाको उक्त मागलाई सहमति जनाउँदै माग फाइल सहमतिका लागि गृह मन्त्रालय पुगिसकेको जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवन आचार्यले बताउनुभयो।

जापान सरकारको ऋण सहयोगमा जापानी कम्पनी हाज्मा/आन्दो जेभीले नै सुरुङ मार्गको निर्माण गर्न लागिरहेको छ। निर्माण कम्पनी काममा लागिसकेको छ। उपत्यकाको मुख्य नाकाका रुपमा रहेको नागढुंगामा हुने सवारी जामको विकल्पका रुपमा समेत हेरिएको यस सुरुङ ४२ महिनाभित्र निर्माण सम्पन्न हुनुपर्ने सम्झौतामा उल्लेख भएको छ। नेपाल सरकारले जापान सरकारबाट सुरुङ निर्माणका लागि सहुलियत दरमा १६ अर्ब ऋण लिएको छ।