रंगशालामा रौनक हुने भयो

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं। 

फुटबलका समर्थकले दशरथ रंगशालाको मैदानमा फुटबल हेर्न पाइने भएको छ। १३औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबल दशरथ रंगशालामा आयोजना गरिने भएको हो।

सागमा दशरथ रंगशाला पहिले झै पुरै रौनक छाउनेछ। नेपाली टोलीले सोमबार केही घण्टा दशरथ रंगशालाको हरियो मैदानमा अभ्यास पनि गरेको छ। लामो समयपछि रंगशालामा नेपाली खेलाडीहरूले अभ्यास गर्न पाइरहेका छन्।

यसअघि २०७२ बैसाख १२ गते गएको भुकम्पले रंगशालालाई जीर्ण बनाएको थियो। त्यो बेलादेखि त्यहाँ कुनै पनि प्रतियोगिता आयोजना भएको छैन। अहिले रंगशालामा खेल्ने भएपछि सागको नेपाली टोली उत्साहित छ। नेपाली टोलीलाई पूर्व राष्ट्रिय खेलाडी बालगोपाल महर्जनले सम्हालिरहेका छन्।

बंगबन्धु कप दिलाएका महर्जनले खेलाडीहरू उत्साहित रहेको बताएका छन्। महर्जनले स्वर्ण पदक नै जित्ने लक्ष्य लिएको पनि बताए। उनले भने—आफ्नै मैदान, आफ्नै समर्थक माझ हाम्रो टोलीलाई फाइदा नै हुनेछ। तयारीको आधारमा म दावी गर्छु कि हाम्रो लक्ष्य स्वर्ण जित्नु नै हो।

टोलीमा प्रमुख तीन स्ट्राइकर विमल घर्तीमगर, अन्जन विष्ट र दिनेश राजवंशी कार्वाहीमा परेका छन्। उनीहरू भुटानमा विश्वकप छनोट खेल खेल्न जान एकदिन अघि नाइट क्लबमा गएपछि कार्वाहीमा परेका हुन्। नेपाली टोलीका भरपर्दा यी तीन खेलाडीको कमी विश्वकप छनोटमा झे सागमा पनि हुनेछ।

उनीहरूको स्थानमा राजेश परियार, प्रेजन तामाङ र राजेश परियारलाई मौका दिइएको छ। यसअघि पूर्ण रुपमा तयार नभएकोले विश्वकप फुटबल २०२२ छनोटअन्तर्गत् होम गेम खेल्ने मौका समेत नेपालले गुमाएको थियो। मंसीर ३ गते भएको कुवेतविरुद्धको १–० ले हारेको होम गेम नेपालले भुटानमा खेल्नुपरेको थियो।

टिकटको मूल्य तोकियो

अखिल नेपाल फुटबल संघ (एन्फा) ले टिकटको मूल्य पनि तोकेको छ। साधारण प्यारापिटको लागि ५ सय रुपियाँ तोकिएको छ। त्यस्तै भीआईपी सीटका लागि भने एन्फाले १ हजार रुपियाँ निर्धारण गरिएको छ।