कर्मचारीकै मिलेमतोमा १ अर्ब २९ करोड राजस्व छली

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

सरकारी कर्मचारी, चाडर्ड एकाउन्टेन्ट, अडिटर र व्यवसायीको मिलेमतोमा सवा अर्बभन्दा बढी राजस्व छली गरेको आरोपमा राजस्व अनुसन्धान विभागले २१ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ। विभागले मजुदरको नाममा विभिन्न कम्पनी दर्ता गरेर नक्कली बिजकको प्रयोग गरेर राजस्व छली गर्नेविरुद्ध मुद्दा दायर गरेको हो।

विभागले बाराको कलैया घर भई ललितपुर धोवीघाट बस्ने बिनोदकुमार अग्रवाल, झापा घर भई ललितपुरको हात्तीवन बस्ने विकास अग्रवालसहित २१ जनाले निम्न आय भएका गरिब तथा मजदूरको नाममा फर्म खोलेर नक्कली भ्याट बिल प्रयोग गर्दै १ अर्ब २९ करोड ३६ लाख रुपियाँ राजस्व चुहावट गरेको जनाएको छ।

विभागका अनुसार राजस्व छली गर्नेमध्ये मुख्य व्यक्तिमा बिनोद कुमार अग्रवाल र विकास अग्रवाल रहेका छन्। राजस्व छलीमा कम्पनीका १२ जना प्रोपाइटर संलग्न भएको पाइएको विभागले जनाएको छ।

विभागका अनुसार कर छलीमा संलग्न प्रोपाइटरहरूमा क्रमशः पार्वती महरा, शिवशंकर बोगटी, पूजा महरा, अम्बिका अधिकारी, अशोक अधिकारी, शेरबहादुर कार्की, धर्मप्रसाद दहाल, जानुका अधिकारी, रेनुका अधिकारी र किरण थापा तथा सविन कँडेल रहेका छन्।

राजस्व छलीमा दुई व्यवसायी संलग्न भएको विभागले जनाएको छ। राजस्व छली गर्ने व्यवसायीहरूमा शिव मन्दिल श्रेष्ठ, बालन कुमार श्रेष्ठ रहेका छन्। विभागका अनुसार चार्टर्ड एकाउन्टेन्ट भुवन पाण्डे पनि कर छलीमा संलग्न भएका छन्।

यसैगरी राजस्व छली गर्नेमा तीन जना लेखा परीक्षक रहेका छन्। कर छली गर्ने लेखा परीक्षकमा क्रमशः कृष्णहरी मरहट्टा, देवराज उपाध्याय र संजयराज पाण्डे गुरुघराना रहेका छन्। विभागले दुई जना कर सहयोगीसमेत राजस्व छलीमा संलग्न रहेको जनाएको छ। कर छलीमा संलग्न कर सहयोगीमा क्रमशः निरोज केसी र गोपालप्रसाद भट्टराई रहेका छन्।