कांग्रेसद्वारा कार्यकर्तालाई चुनावी रणनीति प्रशिक्षण

0
Shares

नेपाल समाचारपत्र, भक्तपुर। 

नेपाली कांग्रेस १ नं क्षेत्रीय कार्यसमिति भक्तपुरको आयोजनामा सञ्चालित १ दिने रणनीतिक प्रशिक्षण सम्पन्न भएको छ। नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र, खरिपाटीमा सञ्चालित प्रशिक्षणमा भक्तपुर प्रदेश सभा १ (क) अन्तर्गत चाँगुनारायण नगरपालिकाका ९ वटै वडा र भक्तपुर नगरपालिका– १० नं वडाका वडा सभापति, सह सभापति, बुथ संयोजक, सदस्यहरू, क्षेत्रीय प्रतिनिधि र क्रियाशिल सदस्य गरी १ सय १० जनाको सहभागिता रहेको थियो।

सहभागीलाई स्वागत गर्दै १ नं क्षेत्रीय सभापति जीवन खत्रीले यो निर्वाचन लोकतान्त्रिक र निरंकुशतावादी कम्युनिस्ट सरकारबीचको भीडन्त भएकोले सबै साथीहरूलाई मंसिर १४ गतेसम्म अहोरात्र खटिएर पार्टीको जितलाई सुनिश्चित गराउन अनुरोध गर्नुभयो।

उपनिर्वाचनमा नेपाली कांग्रेसको जित सुनिश्चित गराउन निर्वाचनका रणनीतिक कार्ययोजना र बुथ संयोजक तथा प्रतिनिधिको काम, कर्तव्यबारे अभिमुखीकरण गर्ने उद्धेश्यले सञ्चालित प्रशिक्षणमा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू डा. चन्द्र भण्डारी र गुरुराज घिमिरले समसामयिक राजनैतिक सन्दर्भ र चुनावी मुद्दाका बारेमा र अधिवक्ता विवेकराज ढुंगेलले निर्वाचन कानुन र बुथ एजेन्टले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा सहजीकरण गर्नुभएको थियो।

प्र्रशिक्षणमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले सरकारको २१ महिनाका २१ असफलताको बारेमा जनतालाई प्रस्ट पार्न आग्रह गर्नुभयो।
प्रशिक्षणका क्रममा जिल्ला सभापति दुर्लभ थापाले उच्च मनोबलका साथ अगाडि बढ्न कार्यकर्तालाई निर्देशन दिनुभयो।

उहाँले मंसिर १४ गतेको उपनिर्वाचनको पूर्वसन्धयामा सत्ता र शक्तिको आडमा नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताले झुठा आश्वासन र लोभ देखाएर सोझा सिधा जनतालाई भ्रममा पार्न सक्ने भएकोले त्यसतर्फ सजग भई जनताको घरदैलोमा घरदैलोमा जानुपर्ने बताउनुभयो।

उहाँले विभिन्न प्रलोभन, डर र धम्कीका भरमा पार्टी प्रवेश गराउने नेकपाको कार्यले उनीहरूको हारको मानसिकता उजागर भएको बताउनुभयो। कार्यक्रममा केन्द्रीय सदस्य सीता गुरुङले सहभागीलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो।

नेपाल तरुण दलका पूर्वकेन्द्रीय अध्यक्ष विनोद प्रकाश कायस्थको संयोजकत्वमा सञ्चालित प्रशिक्षणमा चाँगुनारायण नगरपालिकाका १० वटै वडाका सभापतिले संक्षिप्तरूपमा प्रगति विवरण पनि पेस गर्नुभएको थियो।