हर्न बजाउने विरुद्धको कारबाही तीव्र

0
Shares

काठमाडौं, (नेस)। 

ट्राफिक प्रहरीले जथाभावी हर्न बजाएर गुड्ने सवारी साधनमाथि कारबाही अघि बढाएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या गम्भीररूपले बढेपछि जथाभावी हर्न बजाएर गुड्ने सवारी साधनमाथि कारबाही बढाएको हो। महाशाखाले सोमबार मात्र १ सय ८८ सवारीसाधनलाई कारबाही गरेको छ।

ध्वनि प्रदूषणले श्रवण शक्तिमा ह्रास हुने, रक्तचाप बढ्दै जाने, ह्दयघात हुने, पक्षघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने, स्मरण शक्तिमा कमी आउनुका साथै अशक्त, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती महिलालाई बढी असर हुने भएकाले कारबाहीलाई तीव्रता दिएको हो।

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले उपत्यकावासीको स्वास्थ्यलाई ध्यानमा राखी गम्भीर दुर्घटना हुने खतरा भएमा र सवारी गुडिरहँदा सडकको एक भागबाट अर्कोभाग नदेखिने खतरानाक मोडबाहेकका स्थानमा हर्न पूर्णरुपमा निषेध गरिएको जानकारी दिए।

‘ध्वनिको गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्ड २०६९ विपरीत ध्वनि प्रदूषण गर्ने सवारी साधनलाई आयातमा नै रोक लगाउन अनुरोधसमेत गरेका छौं,’ उहाँले भन्नुभयो। यसअघि उपत्यकामा गत वर्षको वैशाख १ देखि उपत्यकालाई हर्न निषेध क्षेत्र घोषणा गरिएको थियो।

महाशाखाले हालसम्म उपत्यकामा जथाभावी हर्न बजाउने ४३ हजार ६ सय २३ सवारीसाधनलाई कारबाही गरिसकेको छ। यसै मंसिर मात्रै विशेष अभियान सञ्चालन गरि ५ सय ९८ सवारी साधन कारबाहीमा परेको छ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ को (ग) अनुसार ट्राफिक प्रहरीले कारबाही प्रक्रिया चलाउँदै आएको छ। उक्त दफाअनुसार सवारी मोड्न वा ध्वनि संकेत दिन निषेध गरिएको ठाउँमा सवारी मोडेको वा ध्वनि दिएको खण्डमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर ५ सय रुपियाँ जरिवाना गर्न सक्ने व्यवस्था छ।