शङ्कर कोइराला आख्यान पुरस्कार पद्मावतीलाई

0
Shares

नेपाल समाचारपत्र, काठमाडांै। 

दायित्व वाङ्मय प्रतिष्ठानद्वारा स्थापित शङ्कर कोइराला स्मृति पुरस्कार यस वर्ष आख्यानकार पद्ममावती सिंहलाई प्रदान गरिएको छ। दायित्व वाङ्मय प्रतिष्ठान नेपालको आयोजनामा भएको एक कार्यक्रममा साहित्यिक पत्रकार रोचक घिमिरेले सिंहलाई १५ हजार राशि बराबरको शङ्कर कोइराला स्मृति पुरस्कार प्रदान गर्नुका साथै दायित्व द्वैमासिकको शङ्कर कोइराला : कथा–नाटक विशेषाङ्क र रामप्रसाद पन्तद्वारा लिखित ‘सप्तरंगी यात्रा’ नियात्रा सङ्ग्रहको पनि लोकार्पण गर्नुभयो।

विशिष्ट आख्यानकार शङ्कर कोइरालाको ९०औं जन्म जयन्तीको अवसरमा आयोजित सो कार्यक्रममा शङ्कर कोइरालाजस्ता शालीन शिष्ट र प्रचारबाजी नचाहने कर्तव्यनिष्ठ साहित्यकारलाई सम्झेर दायित्वले उहाँको स्मृतिमा जुन काम गरिरहेको छ, त्यो आफैमा उल्लेखनीय भएको बताउनुभएको छ।

दायित्वको १ सय २०औं अंकको रूपमा प्रकाशित शङ्कर कोइराला विशेषाङ्क बारेमा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वउपकुलपति विष्णुविभु घिमिरेले बोल्नुभएको थियो भने साझा प्रकाशनमा कार्यरत छँदाका शङ्कर कोइरालासम्बन्धी अनुभव पनि सुनाउनुभएको थियो।

यसैगरी साहित्यकार रामप्रसाद पन्तद्वारा लिखित सप्तरंगी नियात्रा सङ्ग्रहका बारेमा डा. घनश्याम खतिवडाले समीक्षात्मक मन्तव्य दिनुभएको थियो भने पुरस्कारकी संस्थापिका तथा प्रतिष्ठानकी संरक्षिका भद्रकुमारी घलेले पनि शङ्कर कोइरालाबारे आफ्ना अनुभव र अनुभूति सुनाउनुभएको थियो।

दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा पुरस्कृत व्यक्तित्व पद्मावती सिंहले शङ्कर कोइरालाजस्ता कर्मयोगी आख्यानकारको नाममा स्थापित पुरस्कार ग्रहण गर्न पाउँदा अत्यन्त हर्षित भएको कुरा गर्नुभएको थियो।

कार्यक्रममा शङ्कर कोइरालाका ज्येष्ठ सुपुत्र श्री अनिल कोइराला, प्रतिष्ठानका महासचिव डा. लेखप्रसाद निरौला र यादव भट्टराईले पनि मन्तव्य दिनुभएको थियो।