‘पुरानालाई सम्मान, नयाँ पुस्ताकेन्द्रित नीति’

0
Shares

नेपाल समाचारपत्र, हेटौंडा।

नेकपाका सचिवालय सदस्य सुरेन्द्र पाण्डेले पार्टी एकीकरणपछि अब पुराना पुस्तालाई सम्मान गर्दै र नयाँ पुस्तालाई केन्द्रित नीति बनाएर अगाडि बढ्नुपर्ने औंल्याउनुभएको छ। उहाँले कसैलाई गाली गरेर बस्ने छुट नेकपाको सरकारलाई नभएको पनि बताउनुभयो।पाण्डेले श्रमसँग जोडिन नसके सम्वृद्धिको नाराले सार्थकता नपाउने बताउनुभयो।

नेकपाका जिल्लास्तरीय नेता कार्यकर्तासँगको भेटका क्रममा सोमबार हेटौंडास्थित कार्यालयमा आयोजित कार्यक्रममा उहाँले दुई तिहाइ मतादेश भएरमात्र पनि समृृद्धि नआउने स्पस्ट पार्नुभयो।

‘जब हाम्रा विकासका अवरोधकहरुको समाधान खोज्न सक्दैनौं भने दुई तिहाइको कुनै अर्थ छैन,’ पाण्डेले भन्नुभयो–नौजवानको भावना बुझेर उनीहरुलाई श्रमसँग जोड्नुपर्छ, भाषण गरेर मात्र समृद्धि असम्भव छ।

उहाँले मुलुकलाई आर्थिक समृृद्धिको यात्रामा लैजाने सुनौलो अवसर नेकपा सरकारको काँधमा आएकोले काम गरेरै देखाउनुपर्ने सुझउनुभयो।यसअघि अन्य दलका सरकारले काम गरेनन् भन्दै गाली गर्ने संस्कार नेकपामा रहेको दाबी गर्दै उहाँले अरूलाई गाली नगरी आफैं काम गरेर देखाउन सके मुलुकमा समृद्धि पनि आउने र जनमतको कदर हुने उहाँको भनाइ छ।

नयाँ योजना र सोचले तीन तहका सरकारले काम गरे नेकपाको योजनाले साथर्कता पाउने उहाँले उल्लेख गर्नुभयो।पूर्वअर्थमन्त्रीसमेत रहनुभएका उहाँले देशको अर्थतन्त्र मजबुद बनाउन नयाँ योजना आवश्यक रहेको बताउनुभयो।

उहाँले अर्थतन्त्र बलियो नभएसम्म मुलुकमा आर्थिक परिवर्तन सम्भव नभएको र आर्थिक परिवर्तन नभएसम्म समृृद्धिको लक्ष्यमा पुग्न नसकिने उल्लेख गर्नुभयो।
नयाँ सोचले नयाँ योजना ल्याएर काम गरे मात्र परिवर्तन सम्भव रहेको बताउँदै उहाँले पुरानो मानसिकताले देशको अर्थतन्त्र बलियो नहुने जनाउनुभयो।

नेकपाको सरकारले अब वृद्धभत्तामा मात्र अल्झन नहुने सुझाव दिँदै नेता पाण्डेले युवाहरुलाई कसरी देशमै रोजगारी दिने र पार्टीप्रति आकर्षित बनाउने भन्ने ठोस योजना ल्याउनुपर्ने बताउनुभयो।

नेकपाको सिद्धान्तअनुसार पुँजीवादी व्यवस्था र कानुन पनि देशमा भएकाले तीव्ररूपमा काम गर्नुपर्ने पाण्डेको तर्क छ। उहाँले पुँजीको विकासबिना मुलुकको विकास सम्भव नभएकोले सरकारले त्यही योजनाअनुसार काम गनुपर्ने उल्लेख गर्नुभयो।

कार्यक्रममा पार्टी केन्द्रीय सदस्य कुमारी मोक्तान, प्रदेश–३ संगठन विभाग प्रमुख अनन्त पौडेल, प्रदेशसभा सदस्य जुनेली श्रेष्ठ, जिल्ला सचिवालयका बद्री लम्साल, कमानसिंह पाख्रिन र एकलाल श्रेष्ठलगायत नेता तथा कार्यकर्ताको उपस्थिति थियो।