६८ विद्यार्थी, चार करोडको भवन

0
Shares

चिरञ्जीवी मास्के, दोलखा।

दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर ७ फस्कुमा रहेको भद्रेश्वर आधारभूत विद्यालयमा ६८ जना विद्यार्थी छन्। २०७२ सालको भूकम्पले पुरानो भवन भत्काएपछि केही कक्षा अहिलेसम्म पनि टहरामै सञ्चालन भइरहेको भद्रेश्वरमा अहिले चार करोडभन्दा बढीको लागतमा विद्यालय भवन निर्माण हुँदै छ।

एसियाली विकास बैङ्क (एडीबी) को ऋण सहयोगमा डीआरएसपी –१ कार्यक्रमअन्र्तगत जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) दोलखाले जिल्लाको नौ वटा स्थानीय तहमा १२ वटा विद्यालय भवन निर्माण गरी रहेको छ। तर अधिकांश विद्यालयमा विद्यार्थीको संख्या भने न्यून रहेको देखिन्छ।

आयोजनाको मापदण्डअनुसार कम्तिमा दुई सय विद्यार्थी भएको विद्यालयमा नयाँ भवन निर्माणका लागि सहयोग गरिन्छ। तर नयाँ भवन निर्माण भइरहेको १२ वटा विद्यालयमध्ये ४÷५ वटा विद्यालयमा मात्र मापदण्डअनुसारको विद्यार्थी संख्या रहेको स्थानीयको भनाइ छ।

जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) दोलखाका प्रमुख देवकुमार बराल आयोजना सञ्चालनका लागि विद्यालयको तथ्याङ्क संकलनको क्रममा सबै विद्यालयमा आवश्यक संख्यामा विद्यार्थी रहेको भए पनि अहिले विभिन्न कारणले केही विद्यालयहरुमा विद्यार्थी संख्या घटेको बताउनुहुन्छ।

भद्रेश्वर आधारभूत विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर बुढाथोकी भूकम्प अघि विद्यालयमा दुई सयभन्दा बढी विद्यार्थी रहेको तर भूकम्पका कारण विद्यालय आसपासका वासिन्दासमेत अन्यत्र गएकाले विद्यार्थीको संख्यामा समेत कमि आएको बताउनुहुन्छ।

अहिले अधिकांश मानिसहरु घर निर्माण गरेर पुनः आफ्नो थातथलो फर्कदै गरेकोले विद्यालयमा विद्यार्थी संख्या बृद्धि हुने प्रधानाध्यापक बुढाथोकी बताउनुहुन्छ।
भद्रेश्वर आधारभूत विद्यालयमा ४ करोड ११ लाखको लागतमा ९ कोठे भवन निर्माण भइरहेको छ।

प्रधानाध्यापक बुढाथोकी नयाँ भवन निर्माणपछि अंग्रेजी माध्यमबाट थप व्यवस्थापनसहित विद्यालय सञ्चालन गरिने र विद्यार्थी संख्यासमेत बृद्धि हुँदै गएकोले नयाँ भवन पूर्ण रूपमा उपयोग हुने बताउनुहुन्छ।

भीमेश्वर नगरपालिका वडा नम्बर ५ माटीमा रहेको महेन्द्रोदय माविमा पनि २२ कोठे नयाँ भवन निर्माण हुँदै छ। तर विद्यालयमा हाल एक सय ६० जना मात्र विद्यार्थी रहेका छन्। विद्यालयका प्रधानाध्यापक लक्ष्मी भुजेल भूकम्पले विद्यालयको भवन भत्काएपछि धेरै विद्यार्थीहरु अन्यत्र गएकाले संख्या कम भएको बताउनुहुन्छ।

नयाँ भवन निर्माणपछि विद्यालयमा उल्लेख्य मात्रामा विद्यार्थीहरु आउने प्रधानाध्यापक भुजेल बताउनुहुन्छ। एसियाली विकास बैङ्क (एडीबी) को ऋण सहयोगमा डीआरएसपी –१ कार्यक्रमअन्र्तगत जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) दोलखाले तीन (सी) सातकोठे भवन दुई वटा, तीन (सी) नौकोठे भवन दुई वटा, तीन (सी) १२ कोठे भवन तीन वटा र तीन (सी) २२ कोठे भवन पाँचवटा गरी १२ वटा विद्यालयमा १३ वटा ब्लक निर्माण गरी रहेको र सबै भवनको ७० प्रतिशत काम सकिएको डीआरएसपी –१ कार्यक्रमका इन्जिनियर दीपेन्द्र जमरकटेलले बताउनुभयो।

६४ करोड (भ्याटसहित ७४ करोड) लागतमा निर्माण भइरहेका ती भवनहरु भीमेश्वर नगरपालिकाको दुई वटा विद्यालयमा, कालिञ्चोक गाउँपालिकाको एक वटा विद्यालयमा, मेलुङ गाउँपालिकाको चार वटा विद्यालयमा, विगु गाउँपालिकाको एक वटा विद्यालयमा, शैलुङ गाउँपालिकाको एक वटा विद्यालयमा, तामाकोसी गाउँपालिकाको दुई वटा विद्यालयमा र जिरी नगरपालिकाको एक वटा विद्यालयमा निर्माण भइरहेको पनि इन्जिनियर जमरकटेलले बताउनुभयो।

जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) दोलखाबाट प्राप्त तथ्याङकअनुसार दोलखा जिल्लामा तीन सय ६८ वटा विद्यालयको १२ सय दुईवटा विद्यालय भवनमा क्षति पुगेको थियो।

विभिन्न दातृ निकायको सहयोगमा इकाईले जिल्लामा हालसम्म पाँच सय १४ वटा विद्यालय भवन निर्माण गरिसकेको र एक सय ३३ वटा निर्माणाधीन रहेको प्रमुख देवकुमार बरालले बताउनुभयो। भवन निर्माणका लागि जिल्लाको विभिन्न २८ वटा विद्यालयबाट प्रस्ताव प्राप्त भएको पनि इकाइ प्रमुख बरालले बताउनुभयो।