सरकारी अनुदानको चामल बीच बाटोमै गायब

0
Shares

वीरबहादुर बम, मुगु।

नेपाल सरकारले नेपाल खाद्य संस्थानमार्फत दुर्गमका गाउँमा पठाएको खाद्यान्न बीच बाटोमै हराउने गरेको पाइएको छ।हुम्लाको सर्केगाड वितरण केन्द्रका लागि नेपाल खाद्य संस्थान सुर्खेत र मुगुको गमगढी वितरण केन्द्रबाट पठाइएको खाद्यान्न सम्बन्धित स्थानमा नपुगेको पाइएको छ। खाद्य संस्थानको सहुलियत दरको खाद्यान्न ढुवानीको जिम्मा लिएका ठेकेदारहरूले सम्बन्धित वितरण केन्द्रमा खाद्यान्न नपुर्याएको स्थानीयको आरोप छ।

खाद्यान्न नआएपछि स्थानीय खाद्यान्न जोहो गर्न मुगुको सोरू गाउँपालिका–८ मा रहेको तारापानी बजार र गमगढीमा पुग्ने गरेका छन्। स्थानीयले हप्तौं लगाएर मुगु सदरमुकाम गमगढी र आसपासका बजारमा पुगेर भेडा–च्याङ्ग्रालाई खाद्यान्न बोकाएर ल्याउँदै आएका छन्।

नेपाल खाद्य संस्थानको सर्केगाड डिपोबाट वर्षमा मुस्किलले एकपटक ३० किलोको एक प्याक चामल मात्र पाउने गरेको त्यस क्षेत्रका नागरिकको गुनासो छ। सर्केगाड गाउँपालिका–३ उनपानीका दिलबहादुर फडेराले दशैं–तिहारमा समेत ठेकेदारले चामल नल्याएपछि सात दिन लगाएर मुगुको सोरू गाउँपालिका–८ को तारापानी बजारबाट ल्याएको बताउनुभयो।

सर्केगाड वितरण केन्द्रमा १५ सय रुपियाँमा पाउने चामल उहाँले १ हजार ६ सय ८० रुपियाँमा खरिद गरेको बताउनुभयो। बाटोखर्च सबै जोड्दा उक्त चामलको मूल्य ३ हजार ५ सय रुपियाँ पुगेको दिलबहादुरको भनाइ छ। खाद्य संस्थान मुगुले सर्केगाडका लागि १ हजार क्विन्टल खाद्यान्न पठाउने गरेको मुगुका प्रमुख कर्णबहादुर रावतले बताउनुभयो।

जनताले पाएको भन्ने विवरण आएपछि ढुवानी रकम ठेकेदारले बुझेर लिँदै आएका छन् तर गाउँमा खाद्यन्न नपुगेको स्थानीयको गुनासो छ।‘सरकारले चामल पठाउँछ भन्छन्’, दिलबहादुरले भन्नुभयो– ‘तर खाद्य संस्थानको सर्केगाड डिपोमा पुग्दा जहिले पनि रित्तो हात फर्किनु परेको छ।’

चालू आर्थिक वर्षमा हुम्लाको सर्केगाडका लागि सुर्खेतबाट नै १ हजार क्विन्टल चालम ढुवानी गर्ने भनिए पनि ठेकेदार नआउँदा ढुवानी नभएको खाद्य संस्थान मुगुका प्रमुख रावतले बताउनुभयो।

यता ठेकेदार ओम जय दुर्गी जनरल अडर सप्लायर्सका दुर्गबहादुर बुढाले गमगढीदेखि सर्केगाडसम्म १ हजार क्विन्टल खाद्यान्न ढुवानी गर्ने जिम्मा पाएको र केही दिनमा ढुवानी शुरु हुने बताउनुभयो। समयमै चामल ढुवानी नहुँदा मुगुका डिपो पनि खाली छन्। मुगुका सोरु कोट, पुलु, रातापानी, श्रीकोट डिपो चामल नहुँदा खाली छन्।