निजी मेडिकल शुल्क विवाद : फिर्ता नगरे मुद्दा चलाउने मन्त्रीको तयारी

0
Shares

ईश्वरराज ढकाल, काठमाडौैं। 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले निजी मेडिकल कलेजले तोकेको शुल्क फिर्ता नगरेपछि सम्झाउन र अगाडि रणनीतिबारे छलफल गर्न सोमबार एकैदिन चारवटा बैठक बोलाउनुभएको छ। उहाँले सरकारले गरेको आग्रहलाई तत्काल कार्यान्वन गर्न तथा अन्तिम चेतावनी दिन बैठक बोलाउनुभएको हो।

मन्त्री पोखरेलले सोमबार बिहान मेडिकल कलेज सञ्चालकलाई मन्त्रालयको कार्यकक्षमै बोलाएर बढी लिएको शुल्क फिर्ता दिन आग्रह गर्नुभएको थियो। उहाँले मेडिकल क्षेत्र र डाक्टर पेसा सम्मानित पेसा भएकाले त्यस विषयमा ख्याल राख्दै सरकारको निर्देशक मान्न आग्रह गर्नुभएको थियो।

उहाँले आफ्नो र पेसाको मर्यादा राख्न आग्रह गर्दा कलेज सञ्चालकले केही पनि प्रतिक्रिया दिएका थिएनन्। उहाँले यस्तो सम्मानित र मर्यादित क्षेत्रका मानिसलाई कानुनी कारबाही गर्न नपरोस् भन्दै सरकारले दिएको १५ दिने अल्टिमेटम तत्काल कार्यान्वयन गर्न आग्रह गर्नुभएको थियो।

पटक–पटक निर्देशन र आग्रह गर्दा पनि मेडिकल कलेज सञ्चालकले अटेर गरेपछि मन्त्रालयले गृहमन्त्री रामबहादुर थापासहितको सल्लाहमा कात्तिक २६ गते सार्वजनिक सूचना जारी गरेको थियो। सूचनाको अन्तिमपटकको समय अवधि आज मंगलबार सकिँदै छ।

म्याद सकिनुअघि सबैलाई सम्झाउनका लागि आफूले बैठक बोलाएको जानकारी मेडिकल कलेज सञ्चालकलाई दिनुभएको थियो। बैठकमा उहाँले तत्काल शुल्क फिर्ता नदिए कानुनी प्रक्रियामा जान बाध्य हुने चेतावनी दिएको मन्त्रीका स्वकीय सचिव पुरन केसीले जानकारी दिनुभयो। ‘मन्त्रीज्यूको कुरा सुन्नसाथ उनीहरूले बैठक बसेर निर्णय गर्ने बताएका थिए’ –मन्त्रीसँग भएको भेटको बारेमा जानकारी दिँदै स्वकीय सचिव केसीले भन्नुभयो।

बैठकमा अधिकांश निजी मेडिकल कलेजका सञ्चालहरूको उपस्थिति थियो।त्यसअघि उहाँले शिक्षा सचिव महेशप्रसाद दाहाल, त्रिभुवन र काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा. धर्मकान्त बास्कोटा र रामकण्ठ मकाजु र पदाधिकारीहरू, मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान् कोइराला, राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरी, सदस्य सचिव डा. हरि लम्सालसँग मेडिकल कलेजलाई कारबाही गर्ने विषयमा गम्भीर छलफल गर्नुभएको थियो।

छलफलका क्रममा सबै निकायका अधिकारीले अब कारबाहीको प्रक्रियामा जानुको विकल्प नभएको बताएका थिए। बढी शुल्क फिर्ता गर्न आग्रह गर्दै त्रिवि र काठमाडौं विश्वविद्यालयले पत्रसमेत पठाएको थियो।

सरकारभन्दा आफूहरू माथि रहेको र जस्तोसुकै चलखेल गर्न सक्ने बताउँदै आएका निजी मेडिकल कलेज सञ्चालहरूले सरकारले गरेको पटकपटकको आग्रह र निर्देशनलाई बेवास्ता गर्दै आएका थिए।

पछिल्लो समय १५ दिने कानुनी कारबाही गर्ने विषयमा सूचना प्रकाशित गरेपछि पनि उनीहरूले चलखेल छाडेका थिएनन्। सरकारी निर्देशनको समेत अटेर गरेपछि अब कानुनी उपचार कसरी गर्ने भन्ने विषयमा मन्त्रीले विभिन्न निकायसँग अन्तिम परामर्श लिनुभएको थियो।

मन्त्री पोखरेलले हिजो दिउँसो नेकपा निकट अनेरास्ववियुका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङ र नेविसंघका नेता पुष्प शाहीलगायतसँग भेट गर्नुभएको थियो।

ती विद्यार्थी संगठनले दादागिरी गर्ने मेडिकल कलेजका सञ्चालकलाई पक्राउ गरी कारबाही गर्नुपर्ने बताएका थिए।अनेरास्ववियुका संयोजक महरले सरकार लाचार भएर बस्न नहुने र तत्काल पक्राउ गरी कारबाही गर्न मन्त्रीज्यूलाई सल्लाह दिएको जानकारी गराउनुभयो।

उहाँले भन्नुभयो– ‘सरकारको गरिमा र साखलाई गिर्न नदिने अटेर गर्ने निजी मेडिकल सञ्चालकमाथि आजै (मंगलबार) बाट पक्राउ गरी कारबाही गर्नुपर्छ।’ मन्त्रालयले कानुनी कारबाही नगरे सशक्त आन्दोलन गर्न बाध्य हुने उहाँको भनाइ थियो।

तीनवटा संगठनसँग छलफल गरेपछि मन्त्री पोखरेल शिक्षा सचिवसहित गृहमन्त्री थापासँग भेट गर्न मन्त्रालय पुग्नुभएको थियो। बैठकमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, गृहसचिव प्रेमकुमार राईलगायतको उपस्थिति रहेको थियो। दुई मन्त्रीबीचमा बढी लिएको शुल्क फिर्ता नलिए आज मंगबारबाट पक्राउ प्रक्रिया अघि बढाई ठगी मुद्दा चलाउने तयारी भएको स्रोतको भनाइ छ।

प्रहरी प्रमुखसहितको बैठकपछि मन्त्रालयले मेडिकल कलेज भएको प्रमुख जिल्ला अधिकारी तथा जिल्ला प्रहरी कार्यालयलाई पत्र पठाउने तयारी भएको छ। मन्त्री पोखरेलले सबै निकायसँग भेट गरेपछि सरकारी प्रक्रिया बुझ्न महान्याधिवक्ता अग्नि खरेलसँग समेत छलफल गर्नुभएको थियो।

सो क्रममा उहाँले सरकारले कसरी अघि बढ्ने विषयमा छलफल भएको थियो। मन्त्रीको कडा चेतावनीपछि निजी मेडिकल कलेजले २४ घण्टाभित्र शुल्क फिर्ता गरी कसरी पक्राउ गरेर ठगी मुद्दा चलाउँछन् भन्ने विषयमा आज निणय गर्नेछ।