बहानाबाजी नगरी काम गर्न निर्देशन

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं। 

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र सचिवहरूलाई बहानाबाजी नगरी काम गर्न निर्देशन दिनुभएको छ। उहाँले विकास निर्माणको कामलाई लक्ष्यअनुसार नै सम्पन्न गर्न तीव्र गतिका साथ काम हुनुपर्ने बताउँदै ढिलासुस्ती बहानाबाजी गरेर अब देश अगाडि बढ्न नसक्ने बताउनुभयो।

सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मन्त्री, सचिव, राष्ट्रिय योजना आयोग, प्रधानमन्त्रीका सल्लाहकारसहितलाई बैठकमा प्रधानमन्त्री ओलीले ठेक्कापट्टामा हुने गरेको गलत काम रोक्न सचिवहरूलाई निर्देशन दिनुभयो।

प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘ठेकेदार कम्पनीले कतिवटा काम गर्यो भन्दा पनि कतिवटा ठेक्का लिई अलपत्र पारेको छ, त्यसको आधारमा मूल्यांकन गरेर मात्र ठेक्का दिनुपर्छ, अब सकेसम्म मोभिलाइजेसन नदिनुहोस्, कामको आधारमा मात्र भुक्तानी दिनुहोस्।’

प्रधानमन्त्री ओलीले कामको प्रतिशतभन्दा पनि आयोजना कति वर्ष अगाडिबाट शुरू भएको भन्ने विषयमा विश्लेषण गरेर काम गर्न नसक्ने ठेकेदार कम्पनीमाथि कारबाही प्रक्रिया अगाडि बढाउन पनि निर्देशन दिनुभयो। पुँजीगत खर्च बढाउन गरी काम गर्न निर्देशन दिँदै उहाँले विगतमा अवस्था नभएकाले पनि विकास निर्माणको कामलाई गति दिन आवश्यक भएको बताउनुभयो।

‘अन्तर मन्त्रालयबीच समन्वय भएको छ, विकास लहर अगाडि बढेको छ, सरकारले अगाडि सारेको नीति कार्यक्रम र बजेट कार्यान्वयन प्रभावकारी हुनुपर्छ, अब परिणाममा मूल्यांकन हुन्छ।’ –प्रधानमन्त्री ओलीले भन्नुभयो।

उहाँले देशलाई समृद्ध बनाउन कृषिजन्य उत्पादनमा जोड दिनुपर्ने बताउँदै वैदेशिक रोजगारीमा गएका युवालाई स्वदेशभित्र नै रोजगारी सिर्जना गर्ने गरी काम गर्ने वातावरण बनाउन निर्देशन दिनुभयो।

प्रधानन्त्री ओलीको भनाइ उद्धृत गर्दै उहाँको प्रेस सल्लाहकार सूर्य थापाले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘विगतमा नीति तथा कार्यक्रम एकातिर व्यवहार अर्कातिर हुन्थ्यो घोडा एकातिर बग्गी एकातिर जस्तो, अहिले घोडा अगाडि बग्गी पछाडिको अवस्था रहेको छ, नीतिको समस्या र समन्वयको समस्या सहउपयोगको समस्या सम्बोधन गरेर परिणाम निकाल्नुपर्छ, देश बनाउनुपर्छ।’ अधिकांश मन्त्रालयले अहिलेसम्म भएको कामको प्रगति बैठकमा पेस गरेका थिए।