लिभरपुल अझै अपराजित

0
Shares

लन्डन, (एजेन्सी) ।

लिभरपुलले इंग्लिस प्रिमियर लिगमा आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ। शनिबार बराबरीतर्फ उन्मुख खेलमा फर्मिनोले गोल गर्दै लिभरपुललाई घरेलु टोली क्रिस्टल प्यालेसविरुद्ध २–१ को सांघुरो जित दिलाएको हो।

ब्राजिलियन फरवार्ड फर्मिनोले खेल सकिन पाँच मिनेट बाँकी रहँदा गोल गरेपछि लिभरपुलको जित सम्भव भएको हो। लिभरपुलका लागि पहिलो गोल भने साडियो मानेले गरेका थिए।

खेलको ४९औं मिनेटमा मानेले गोल गर्दै लिभरपुलाई अग्रता दिलाएका थिए। तर ८२औं मिनेटमा वेल्फ्रेड जाहाले बराबरी गोल गर्दै क्रिस्टल प्यालेसलाई खेलमा फर्काएका थिए। त्यसको तीन मिनेटपछि नै फर्मिनोले गोल गरेर लिभरपुलको जित सुनिश्चित गरेका थिए।

प्रिमियर लिगको १३औं चरण सकिँदा लिभरपुलले १२ खेलमा जित र १ बराबरीको नतिजा निकालेको छ। जितसँँगै लिभरपुलले शीर्ष स्थानलाई थप बलियो बनाएको छ। लिभरपुलको १३ खेलबाट ३७ अंक छ। टोलीको डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी भन्दा ९ अंकको अग्रता रहेको छ।

सिटीले लन्डन क्लब चेल्सीलाई एक गोलले पछि परेको स्थितिलाई उल्ट्याएर ३–१ को जित निकालेको थियो। सिटीको जितमा केभिन डी ब्रुयन र रियाद माहारेजले गोल गरेका थिए। पराजित चेल्सीको भने १३ खेलबाट २६ अंक रहेको छ।