सप्तखेल टोल सुधार समितिद्वारा  समाचारपत्रलाई सम्मान

0
Shares

नेपाल समाचारपत्र, ललितपुर।
ललितपुर महानगरपालिका–९ स्थित सप्तखेल टोल सुधार समितिले नेपाल समाचारपत्र राष्ट्रिय दैनिकलाई सम्मान गरेको छ।
समितिको १४औं वार्षिक साधारणसभाको अवसरमा आयोजित एक समारोहका बीच नेपाल समाचारपत्रलाई सम्मान गरिएको हो।
सो क्षेत्रको भौतिक विकास र सामाजिक, धार्मिक लगायत मानवीय विकासको समाचार सम्प्रेषण गर्दै आएको भन्दै नेपाल समाचारपत्र दैनिकलाई सम्मान गरिएको हो।
सो अवसरमा वडा नं ९ का वडाअध्यक्ष राजु महर्जनले नेपाल समाचारपत्र सहायक सम्पादक सुनील महर्जनलाई कदर पत्रसहित मायाको चिनो प्रदान गर्नुभयो।
समारोहमा समितिका अध्यक्ष गुणराज शाक्यले स्थानीय गतिविधि प्रकाशनसंगै समितिका लागि तीन वर्षदेखि हरेक दिन समाचारपत्र दुईप्रति उपलब्धै गराउँदै आएकोमा धन्यवाद व्यक्त गर्नुभयो।
यसबाट स्थानीयवासीहरू दैनिक पत्रिका अध्ययनसंगै सञ्चारमा पहुँच बढेको अध्यक्ष शाक्यको कथन रहेको छ।
सो अवसरमा सहायक सम्पादक महर्जनले विकासको एउटा आयाम सञ्चारमा पहुँच रहेको उल्लेख गर्दै नियमित पत्रिका पढ्ने बानीसंगै सञ्चारमा पहुँचका लागि समितिले गरेको प्रयास अनुकरणीय रहेको धारणा राख्नुभयो।
‘भौतिक विकासको जग मानवीय विकास’
यसैबीच वडास्तरीय र नगरस्तरीय योजना सञ्चालनमा समितिमार्फत स्थानीयवासीको सक्रिय भूमिका रहेको सम्बद्ध वक्ताहरूले बताएका छन्।
वडाअध्यक्ष राजु महर्जनले विकास निर्माणमा स्थानीयको सक्रिय सहभागिता, सामाजिक, ज्ञानमाला भजन र बुद्ध पुजालगायत नियमित धार्मिक गतिविधिका हिसाबले समितिको भूमिका सराहनीय रहेको बताउनुभयो।
समितिमार्फत स्थानीयको सक्रियताको कारण अघिल्लो आर्थिक वर्षका विभिन्न नगरस्तरीय योजनाहरू सफलतापूर्वक कार्यान्वयन भएको पनि उहाँले बताउनुभयो।
विकासका लागि र भएको विकासलाई संरक्षण गर्न चेतनाको विकास, सांगठनिक रुपमा अघि बढ्ने लगायत मानवीय विकासको खाँचो रहेको उल्लेख गर्दै वडाअध्यक्ष महर्जनले भन्नुभयो ‘समिति दुईवटा हिसाबले उदाहरणीय रहेको छ।
महिला समूहको सक्रियता प्रशंसायोग्य छ। भौतिक विकासको जग मानवीय विकास हो।’नेपालमण्डल टेलिभिजनका प्रमुख क्यामरा ‘पर्सन’ समेत रहनुभएका समितिका अध्यक्ष गुणराज शाक्यले सेवामूलक भावले विकास निर्माणका काम गर्दा प्रभावकारी हुने अनुभव हासिल गरेको बताउनुभयो।
स्थानीय विकास र टोलबाट आएको सुझावलाई वडाले मनन गर्दै अघि बढ्ने पनि विश्वास पनि उहाँले व्यक्त गर्नुभयो। सभामा सचिव आनन्दकुमार श्रेष्ठले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो।
सो अवसरमा समितिका कोषाध्यक्ष जितेन्द्र व्यञ्जनकारले बाटो, ढल, पानी टयांकीलगायत विकासका लागि वडा र नगरपालिकाबाट आएको कुल बजेटमा जनसहभागिता र श्रमदान गरेर टोललाई नाफा दिलाउन सफल भएको निष्कर्ष रहेको आर्थिक प्रतिवेदन प्रस्तुतत गर्नुभयो।सो अवसरमा महिला समूहको उपाध्यक्ष सुशीला शाक्यले पनि बोल्नुभएको थियो।
समितिको अध्यक्षमा व्यञ्जनकार
समितिको १४औं वार्षिक साधारण सभाले जितेन्द्र व्यञ्जनकारको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
उपाध्यक्ष शर्मिला देशार व्यञ्जनकार, सचिवमा आनन्दकुमार श्रेष्ठ, कोषाध्यक्षमा नवीन महर्जन, सहसचिवमा यमा हरिशरण रसाईली, सहकोषाध्यक्षमा ज्ञानबहादुर महर्जन रहनुभएको छ। त्यसै गरी कार्यसमिति सदस्यमा विकास श्रेष्ठ, लक्ष्मीहेरा ताम्रकार र केशरी जोशी रहनुभएको छ।