काठमाडौं, (नेस)।
नागढुंगास्थित तोतीपाखा–नौबीसे सिस्ने सुरुङमार्गमा सहज यातयात आवागमनका लागि फ्लाइओभर निर्माणको तयारी थालेको छ।
जापान सरकारको ऋण सहयोगमा निर्माणाधीन उक्त सुरुङमार्गको पूर्वीमुख तोतीपाखा बलम्बुमा फ्लाइओभर बन्न लागिएको हो।
यसका लागि जग्गा अधिग्रहणको काम अघि बढिसकेको छ। २ दशमलव ७ किलोमिटर सुरुङमार्गमा धादिङ र काठमाडौंतर्फ करिब साढे दुई किलोमिटर पहुँचमार्ग, ७ वटा पुल, ११ वटा कल्भर्ट र २ वटा फ्लाइओभर ब्रिज बन्न लागेको हो।
फ्लाई ओभर निर्माणका लागि ४७ वटा घर भत्काउनुपर्ने नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले जनाएको छ। आयोजनाले उक्त घर भत्काउनका लागि गत हप्ता मात्रै मन्त्रिपरिषद्बाट स्वीकृतिका लागि पेस गरेको थियो।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै गएको बिहीबार फ्लाई ओभर निर्माणका लागि बलम्बुमा १२ रोपनी जग्गामा फैलिएको ४७ घर अधिग्रहणका लागि स्वीकृत भएको सरकारका प्रवक्ता गोकुल बास्कोटाले बताउनुभयो।
बलम्बुको घर अधिग्रहणका लागि १ अर्ब रुपियाँ चाहिने आयोजना प्रमुख श्यामप्रसाद खरेलले बताउनुभयो। मन्त्रिपरिषद्को निर्णयसँगै उक्त जग्गा अधिग्रहणको बाटो खुलेको उहाँले जानकारी दिनुभयो।
सुरुङमार्गकै अंग हुने गरी बन्न लागिएको यी दुई फ्लाई ओभर सुरुङमार्ग निर्माण गर्ने कम्पनीले नै बनाउनुपर्ने सम्झौतामा उल्लेख छ। यहाँ फ्लाई ओभर बनेको खण्डमा नेपालमा यो पहिलो हुनेछ।
दुई फ्लाई ओभरमध्ये एउटा अहिलेको सडक ट्राफिकलाई अवरोध नपुगोस् भनेर कलंकी–नागढुंगा सडक खण्डको बलम्बुमा निर्माण गरिनेछ। यसले त्रिभुवन राजपथमा सवारी आवातजावतलाई सुचारु गर्नेछ।
अर्को फ्लाई ओभर भने नागढुंगा जोड्ने स्थानीय सडकमा रहनेछ । यसले पनि सडक ट्राफिक सहज बनाउन भूमिका खेल्ने आयोजनाले विश्वास लिएको छ।











प्रतिक्रिया