नागढुंगामा सुरुङको सर्भे गर्दै ठेकेदार कम्पनी

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं। 
नागढुंगा–नौबीसे सुरुङमार्ग निर्माणको ठेक्का पाएको जापानी कम्पनी हाज्मा/आन्दो जेभीले सुरुङ निर्माण अघि गर्नुपर्ने ‘प्रि–कन्स्ट्रक्सन सर्भे’ गरिरहेको छ। कम्पनीले सुरुङमार्ग निर्माणको तयारी गर्न विस्तृतरूपमा सर्भे थालिएको हो।
उक्त सर्भेपश्चात् निर्माण गर्न शुरूदेखि अन्तिमसम्मको खाका तयार हुने र कसरी अगाडि बढ्ने भन्ने प्रस्ट हुने नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ। आयोजना प्रमुख श्यामप्रसाद खरेलका अनुसार निर्माण कम्पनीले चाँडै सर्भे सम्पन्न गरेर काममा खटिने बताउनुभयो।
कम्पनीले दुई महिनादेखि सर्भेको काम गरिरहेको छ। आयोजनाले ४२ महिनाभित्र सुरुङ निर्माणको काम सम्पन्न गर्न कात्तिक २८ गतेदेखि ठेकेदारले काम गरेको समय शुरू भएको जनाएको छ। उक्त दिनदेखि ठेकेदारले काम गरेको मान्ने आयोजना प्रमुख खरेलले बताउनुभयो।
आयोजनाको सुरुङ निर्माण, सडक, कल्भर्ट, फ्लाइओभर निर्माण र निर्माणपछि बस्तीमा पर्ने प्रभावलगायत सूक्ष्म ढंगले अध्ययन गरिरहेको उहाँले बताउनुभयो।
आयोजनाअन्तर्गत २ दशमलव ७ किलोमिटर सुरुङमार्गमा धादिङ र काठमाडौंतर्फ करिब साढे दुई किलोमिटर पहुँचमार्ग, ७ वटा पुल, ११ वटा कल्भर्ट र २ वटा फ्लाइओभर ब्रिज बन्न लागेको हो।
यहाँ बन्ने सुरुङमार्ग र फ्लाइओभर नेपालकै पहिलो हुने दाबी आयोजनाले गरेको छ। सुरुङ, फ्लाइओभर र सडक अन्तर्राष्ट्रियस्तरको बन्ने विश्वास आयोजनाले गरेको छ।
आयोजनाको कात्तिक ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको थियो। सुरुङमार्ग नागढुंगाको तोतीपाखादेखि धादिङको नौबीसे सिस्नेखोलासम्म हुनेछ।
जापान सरकारको १६ अर्ब ऋण सहयोग र नेपालको ६ अर्ब रुपियाँ लगानीमा सुरूङमार्ग बन्नेछ। उपत्यकाको मुख्य नाकाका रुपमा रहेको नागढुंगा नाकाका लागि यस सुरुङमार्ग निर्माणलाई महत्वपूर्ण रुपमा हेरिएको छ।
सुरुङमार्गको निर्माण सम्पन्न भएपछि हालको सडकको रेखांकनमा सुधार हुने, यातायात सञ्चालनको समयमा कमी आउने र सडक यातायात सुरक्षित र भरपर्दाे हुने जनाइएको छ।