सागको ओलम्पिक टर्च र्याली शुरू

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं। 

दक्षिण एसियाली खेलकुद (साग) को १३औं संस्करणको उद्घाटन दिन मंसिर १५ गते दीप प्रज्ज्वलन गरिने ओलम्पिक टर्चको र्याली शुक्रबारदेखि शुरू भएको छ। सातै प्रदेशका मुख्य शहरमा पुर्याइने टर्चको र्याली स्वयम्भु स्तुपदेखि शुरू भएको हो।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले ओलम्पियन एवं नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका म्याराथन धावक जितबहादुर केसीलाई टर्च हस्तान्तरण गरेपछि र्याली शुरू भएको थियो।

टर्च लिएपछि र्यालीमा सहभागी हुने ओलम्पियनहरूले स्वयम्भुको तीनपटक परिक्रमा गरेपछि स्वयम्भु हाताबाट र्यालीका लागि प्रस्थान गरेका थिए।

ओलम्पियनसँगै सदस्य–सचिव सिलवालले पनि स्वयम्भुको परिक्रमा गरेका थिए। टर्च हस्तान्तरण गर्नुअघि विभिन्न खेलका राष्ट्रिय खेलाडीसहित र्यालीमा उपस्थितले स्वयम्भुको ३ मिनेट प्रार्थना गरेका थिए।

र्याली शुभारम्भ कार्यक्रममा सदस्य–सचिव सिलवालको ‘१३औं सफल पारौं’, जित्छौं, हामी जित्छौं’ र ‘नेपालको जय होस्’ भन्ने नारामा उपस्थित सबैले साथ दिएका थिए।र्याली व्यवस्थापनको जिम्मा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले पाएको छ।

र्यालीमा खेलाडी संघका अध्यक्षसमेत रहेका र्याली संयोजक दीपक श्रेष्ठबाहेक विभिन्न खेलका १२ ओलम्पियन सहभागी छन्।

पहिलो दिन र्याली प्रदेश–१ को विराटनगर, दोस्रो दिन प्रदेश–२ को जनकपुर, तेस्रो दिन प्रदेश–३ को हेटौंडा र चितवन, चौथो दिन प्रदेश–५ को लुम्बिनी र बुटवल, पाँचौं दिन कर्णाली प्रदेशको सुर्खेत र प्रदेश–५ को नेपालगन्ज, छैटौं दिन सुदूरपश्चिम प्रदेशको धनगढी तथा सातौं गण्डकी प्रदेशको पोखरा लगिनेछ।

आठौं दिन टर्चलाई पोखरामा नगर परिक्रमा गराइनेछ। सोही दिन पोखराबाट टर्चलाई काठमाडौं ल्याइनेछ। नवौं दिन काठमाडौंको विभिन्न स्थान परिक्रमा गराई त्यसै दिन साग उद्घाटनस्थल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा टर्चबाट दीप प्रज्ज्वलन गरिने कार्यक्रम छ।