नेपाल भाषाको साहित्य महोत्सव सम्पन्न

0
Shares

नेपाल समाचारपत्र, काठमाडौ।

नेपालभाषा साहित्य र रञ्जना लिपीको अभ्यासलाई जिवन्त र फराकिलो बनाउने उद्देश्यका साथ शुरू भएको नेपालभाषा साहित्य नखः महोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ।

दुई दिने महोत्सवमा कथा, गीत, कविता वाचन, नाटक प्रर्दशन, हास्यव्यंग्य प्रहसन, पुस्तक विमोचन तथा प्रर्दशनी, सर्जकका साहित्यिक यात्राबारे अन्र्तक्रिया, खाना महोत्सव, रञ्जना लिपिको क्यालिजात्रा जस्ता गतिविधि प्रस्तुत भए।

बदलिदो परिवेशमा नेपाल भाषाको साहित्यिक यात्रा र नेपाल भाषा साहित्यको विकासमा चलचित्रको भूमिका जस्ता विषयमा अन्र्तक्रियासमेत आयोजना गरियो।नेपालभाषाको दैनिक पत्रिका ‘नेपाल भाषा टाइम्स’को आयोजनामा यस्तो महोत्सव हुँदै आएको छ।

सपटकको तेस्रो श्रृंखला नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरियो। महोत्सवको पहिलो दिन शुक्रबार वरिष्ठ साहित्यकार मथुरा सायमिको आत्मकथा ‘सायमि जि मथुरा’, भूषण श्रेष्ठको गजल संग्रह ‘नुगस्याल गुनगुन’, राजेन्द्रकुमार पुताको गजल समालोचना, राज सायमिको जासुसी उपन्यास ‘तुयुगु अजः’ जस्ता पुस्तक विमोचन गरिएको थियो।

साथै रञ्जना लिपीको पुनरुत्थानबारे अन्र्तक्रिया गरिनुका साथै बालबालिका र अन्य सहभागीले सो लिपीमा आफ्नो नाम लेखाए। नेपाल लिपि गुठीले शुरु गरेको रञ्जना क्यालिग्राफी अभियानअन्तर्गत देशभर यो लिपिलाई ब्यूँत्याउने प्रयास भइरहेको छ।

नेपालका मठमन्दिर, स्तुपा र चैत्यसहित छिमेकी मुलुक चीनका मठमन्दिर र स्तुपामा समेत रञ्जना लिपिको प्रयोग भएको प्रमाण पर्याप्त भए पनि राज्यले यो लिपिलाई महत्व नदिएको अन्र्तक्रियाका वक्ताले बताए।

नेपालभाषाको साहित्य मायाप्रेमजस्ता विषयमा मात्रै केन्द्रित नभई चिकित्सा, वास्तु, शब्दकोष, ज्योतिषशास्त्र, धर्म संस्कृतिजस्ता विधामा पनि केन्द्रित रहेको नेपाल भाषा टाइम्स्का सम्पादक सुरेश किरण मानन्धरले बताउनुभयो।

शनिबार मथुरमा सायमिको साहित्यिक यात्राबारे चर्चा गरिनुका साथै भाषा र साहित्यको विकासमा संकिपा (चलचित्र) को भूमिका बारेमा छलफल गरियो।