वरिष्ठ पत्रकार गुरुवाचार्यको निधन

0
Shares

काठमाडौं, (नेस)।

वरिष्ठ पत्रकार विनय गुरुवाचार्यको निधन भएको छ। शुक्रबार आफ्नै निवास थापाथलीमा निधन भएका ८२ वर्षीय उहाँको शनिवार पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको छ।

वर्षौंसम्म राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चार माध्यममा काम गर्नुभएका गुरुवाचार्य लामो समयदेखि पार्किन्सनसम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो।

अन्तर्राष्ट्रिय समाचार संस्था एसोसिएटेड प्रेस (एपी)को नेपाल प्रतिनिधिका रूपमा करिव चार दशक काम गर्नुभएका उहाँ जापानको दैनिक पत्रिका ‘माइनिची सिम्बुन’मा समेत आवद्ध रहनुभएको थियो।

गुरुवाचार्य नेपाल वातावरण पत्रकार समूह (नेवापस)का पूर्व अध्यक्षसमेत हुनुुहुन्छ। उहाँ सन् १९९१देखि १९९३ (दुई कार्यकाल)सम्म समूहको अध्यक्ष रहनुभएको थियो।

भद्र र सालिन स्वभावका गुरुवाचार्यको कार्यकालमा देशभरिका वातावरणीय मुद्दाबारे सुसूचित गराउँदै पत्रकारितामा वातावरण विधालाई फराकिलो बनाउने/ बुझाउने काम भएको समूहका पदाधिकारी स्मरण गर्छन्।

वातावरण पत्रकारिताको आरम्भमा उहाँले गरेको जगको कामले अहिलेसम्म निरन्तरता पाएको र उहाँकै पहलमा नेपालमा पहिलोपटक वातावरणीय आयोजनाको कार्यान्वयन अभ्यास शुरू भएको समूहका पूर्वअध्यक्ष राजेन्द्र दाहाल बताउनुहुन्छ।

पूर्वअध्यक्षको निधनमा शोक व्यक्त गर्न समूहले आज आइतबारदेखि तीन दिनसम्म समूह सचिवालय भनिमण्डल, ललितपुरमा शोक पुस्तिका राख्ने भएको छ।