युवालाई पाँच अर्ब बराबरको सहुलियत ऋण

0
Shares

ईश्वरराज ढकाल, काठमाडौं

उद्यमशीलतामा लागेका युवालाई सरकारले सहुलियतपूर्ण ऋण दिने भएको छ। राष्ट्रिय युवा परिषद्ले सञ्चालन गरेको एकहप्ते उद्यमशीलता विकास र वित्तीय साक्षरता तालिममा सहभागी भएका युवालाई बिनाधितो सहुलियतपूर्ण ऋण दिने भएको छ।

विदेशबाट फर्केका र उद्यम सञ्चालन गरिरहेका १६ देखि ४० वर्ष उमेर समूहका युवालाई पहिलो चरणामा ५ अर्ब रुपियाँ बराबरको ऋण दिन लागेको हो। यसका लागि राष्ट्रिय युवा परिषद्ले सरकारी र निजी गरी चारवटा बंैकसँग सम्झौता गर्ने भएको छ।

परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले पहिलो चरणमा नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास र एनएमबी बैंकबीच सम्झौता हुने तयारीमा रहेको जानकारी गराउनुभयो।

परिषद्ले हिजो बिहीबार सम्झौता गर्ने तयारी थियो। अन्तिम समयमा अर्थमन्त्री युवराज खतिवडा उपस्थित नहुने भएपछि सो सम्झौता ५ दिन पर धकेलिएको छ। सो कर्जा उपलब्ध गराउन प्रत्येक बंैकले करिब १ अर्ब ६० करोड रुपियाँ विनियोजन गर्नुपर्ने भएको छ।

कार्यकारी उपाध्यक्ष ढुंगेलले बैंकसँग पटकपटक कुराकानीपछि सम्झौता भएको जानकारी दिनुभयो। उहाँले बिहीबार हुने भनिएको सम्झौता केही दिनका लागि धकेलिए पनि सम्पूर्ण प्रक्रिया पूरा भइसकेको जानकारी दिनुभयो। चार बैंकले करिब २ हजार युवालाई सहुलियतपूर्ण ऋण दिनेछन्।

तर सम्झौतामा संख्या उल्लेख गरिएको छैन। कार्यकारी उपाध्यक्ष ढुंगेलले चार बैंकले उपलब्ध गराउने ऋण र युवाको संख्या बढ्न सक्ने जानकारी दिनुभयो। कार्यविधिअनुसार बैंकको आधार ब्याजदरभन्दा २ प्रतिशत बढी लिएर ऋण दिने व्यवस्था छ।

अधिकांश बैंकले ११ प्रतिशतमा ऋण उपलब्ध गराउँदा २ प्रतिशत थप गर्नुपर्ने हुन्छ। सरकारले तयार गरेको ऋणको कार्यविधिमा युवालाई ६ र महिलालाई ५ प्रतिशत सहुलियत दिने व्यवस्था छ। त्यसो हँुदा महिला युवा उद्यमीले ७ प्रतिशतमा ऋण पाउनेछन् भने पुरुष उद्यमीले ८ प्रतिशत सहुलियतमा ऋण पाउनेछन्।

ऋण लिन युवा उद्यमीले परियोजना पेस गर्नुपर्नेछ, परियोजनकै लागि सहुलियतपूर्ण ऋणको व्यवस्था गरिएको ढुंगेलले जानकारी दिनुभयो।उहाँले पहिलो चरणमा चार बैंकसँग सम्झौता गरेपछि अन्य बैंकसँग पनि सम्झौता गर्ने तयारी भइरहेको जानकारी गराउनुभयो।

उहाँले भन्नुभयो– ‘सरकारले ल्याएको सहुलियतपूर्ण ऋणलाई सबै बंैकले अनिवार्यरूपमा दिनुपर्ने व्यवस्था गर्न लागेका छौं।’ परिषद्कै अगुवाइमा सम्झौताको चरणमा रहेको सो कार्यक्रमअन्तर्गत युवा उद्यमीले कृषि, पर्यटन, प्राविधिक तालिम सञ्चालन गरेको हुनुपर्नेछ।

‘करिब ६० वटा विषयमा उद्यम सञ्चालन गरेका युवालाई ऋण दिने विषयमा सम्झौता गर्न लागेका हौं।’ –ढुंगेलले भन्नुभयो। परिषद्ले विदेशबाट फर्किएका युवालाई समेत ऋण दिने व्यवस्था गरेको छ।

विशेष गरी युवालाई विदेशिनबाट रोक्न र नेपालमा उद्यमशीलताको विकास गर्न ऋण दिने व्यवस्था गर्न लागेको हो। सरकारको नीति तथा कार्यक्रममा यस्तो व्यवस्था भए पनि कार्यान्वयनमा आएको थिएन। परिषद्ले करिब दुई महिनादेखि लगातार बैंकसँग कुराकानी गरेर सम्झौता गर्ने अन्तिम तयारी गरेको हो।