सागको ओलम्पिक टर्च सातै प्रदेशमा

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) को ओलम्पिक टर्च सातै प्रदेशमा पुर्याइने भएकोे छ। ओलम्पिक टर्च र्याली व्यवस्थापनको जिम्मेवारी पाएको नेपाल खेलाडी तथा प्रशिक्षक संघले बिहीबार पत्रकार सम्मेलन गरी सोको जानकारी गराएको हो।

स्वयम्भुमा शुक्रबार बिहान ८ बजे नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका पूर्वधावक तथा ओलम्पियन जितबहादुर केसीलाई टर्च हस्तान्तरण गरिनेछ। यसपछि र्याली प्रारम्भ हुने खेलाडी संघका अध्यक्ष एवं र्याली संयोजक दीपक श्रेष्ठले जानकारी दिए।

टर्च सातै प्रदेशका मुख्य शहरमा पुर्याइने अध्यक्ष श्रेष्ठले बताए। पहिलो दिन र्याली प्रदेश–१ को विराटनगर, दोस्रो दिन प्रदेश–२ को जनकपुर, तेस्रो दिन प्रदेश–३ को हेटौंडा र चितवन, चौथो दिन प्रदेश–५ को लुम्बिनी र बुटवल, पाँचौं दिन कर्णाली प्रदेशको सुर्खेत र प्रदेश–५ को नेपालगन्ज, छैठौं दिन सुदूरपश्चिम प्रदेशको धनगढी तथा सातौं दिन गण्डकी प्रदेशको पोखरा लगिनेछ।

आठौं दिन टर्चलाई पोखरामा नगर परिक्रमा गराइनेछ। सोही दिन पोखराबाट टर्चलाई काठमाडौं ल्याइनेछ।
नवौं दिन काठमाडौंको विभिन्न स्थान परिक्रमा गराई त्यसै दिन साग उद्घाटनस्थल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दीप प्रज्ज्वलन गरिने कार्यक्रम छ।

र्यालीमा ओलम्पियनहरू तेक्वान्दोका दीपक विष्ट, एथ्लेटिक्सका वैकुण्ठ मानन्धर र राजेन्द्र भण्डारी, पौडीकी नयना शाक्य, बक्सिङका उमेश मास्के, जुडोकी देवु थापा, एथ्लेटिक्सका जितबहादुर केसी र एथ्लेटिक्सकै ज्ञानबहादुर बोहरा, सुटिङका टीकाराम श्रेष्ठ, एथ्लेटिक्सका राजकुमारी पाण्डे, कान्छीमाया कोजु र मुकुन्दहरि श्रेष्ठ तथा खेलाडी संघका अध्यक्ष एवं सागका दोहोरो स्वर्णधारी कराँतेका दीपक श्रेष्ठ सहभागी हुनेछन्।