सागमा सुरक्षा व्यवस्थीत गर्न गृहमन्त्रीको निर्देशन

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं। 

गृहमन्त्री रामबहादुर थापा बादलले १३औं साग प्रतियोगिताको क्रममा त्रुटिरहित सुरक्षा व्यवस्था मिलाउन सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ।

बिहीबार गृह मन्त्रालयमा साग सुरक्षा कार्ययोजनाका सम्बन्धमा आयोजित बैठकमा गृहमन्त्री थापाले साग मुलुकको प्रतिष्ठासँग जोडिएको बताउँदै कुनै कमजोरी नहुने गरी सुरक्षा योजना बनाउन निर्देशन दिनुभयो।

गृहमन्त्री थापाले प्रतियोगितालाई स्वच्छ, स्वस्थ र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न आवश्यक सबै तयारी गर्नसमेत सुरक्षा निकायलाई निर्देशन दिनुभयो।

सागका लागि बसेको बैठकमा तयार गरिएको सुरक्षा कार्ययोजना प्रस्तुत गरिएको हो। कार्ययोजनामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीले प्रतियोगिताको क्रममा परिचालनको खाका तयार पारेका छन्।

खेलस्थल, खेलाडीको आवासस्थल र खेलाडीको सुरक्षालाई केन्द्रमा राखेर कार्ययोजना तयार पारिएको छ।
गृहमन्त्री थापाले सुरक्षा कार्ययोजना राम्रो बनेको भन्दै यसलाई थप परिस्कृत गर्दै लैजान निर्देशन दिनुभयो।

बैठकमा गृहमन्त्री बादल, गृहसचिव प्रेमकुमार राई, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, नेपाली सेना र सशस्त्र प्रहरी बलका वरिष्ठ अधिकारीहरू सहभागी हुनुहुन्थ्यो।

आगामी मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं, ललितपुर, कास्की र धनुषामा १३औं साग सञ्चालन हुँदै छ।