‘संरचनागत समस्या हल गर्नुपर्दछ’

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं। 

नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले निजामती सेवाका व्यक्तिगत र संरचनागत समस्यालाई अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।मन्त्रालयको बिहीबार पदभार ग्रहण गर्दै मन्त्री त्रिपाठीले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो।

नीतिगत र संरचनागत समस्याका कारण काम प्रभावित हुने गरेको भन्दै आफूले त्यस्ता समस्या अन्त्यका लागि प्राथमिकतामा राख्ने पनि बताउनुभयो। हाल निजामती सेवामा नीतिगत र संरचनागत दुवै समस्या रहेको बताउँदै उहाँले त्यसलाई सच्याउनुपर्ने बताउनुभयो।

‘कर्मचारी संयन्त्रमा एउटा नीतिगत समस्या छ। अर्को संरचनागत समस्या। यी दुवै समस्या हटाएपछि व्यक्तिगत समस्या क्रमशः हल हुनेछ’ –मन्त्री त्रिपाठीले भन्नुभयो।‘हामीले निजामती सेवाबाट राम्ररी सेवा प्रवाह नहुनुमा व्यक्तिलाई मात्र सधैं दोषी देखिराख्छौं।

वास्तवमा कर्मचारी संयन्त्रमा नीतिगत र संरचनागत कमजोरी पनि छ। ड्राइभर बलियो राखिदिएर १० हर्सपावरको गाडी चलाउन दियो भने त उही हो नि समस्या त। त्यसैले संरचनागत समस्या हल गर्नुपर्दछ’ –उहाँले भन्नुभयो।

काम गर्दा राजनीतिक सहमतिका आधारमा गर्ने पनि उहाँले बताउनुभयो। संघीय निजामती सेवा ऐन छिटोभन्दा छिटो जारी गर्ने र कर्मचारी समायोजनका क्रममा देखिएका केही मनोवैज्ञानिक समस्याहरु समाधान गर्नेतर्फ आफ्नो ध्यान केन्द्रित गर्ने बताउनुभयो।

स्थानीय तह, प्रदेश र संघबीचको अन्तरसम्बन्धलाई तारतम्य मिलाएर अघि बढ्नुपर्ने खाँचो आंैल्याउँदै उहाँले त्यसका लागि केही कानुनी संशोधनको आवश्यकता रहेको पनि बताउनुभयो।

मन्त्री त्रिपाठीले स्थानीय तहमा सामाजिक सुरक्षाको रकमसमेत अर्को शीर्षकमा लगेको पाइएको भन्दै त्यसमा पारदर्शिता ल्याउन आफूले प्राथमिकता दिने पनि बताउनुभयो।

यस अघि मन्त्री त्रिपाठीलाई कर्मचारीहरुले खादा र पुष्पगुच्छा दिएर स्वागत गरेका थिए। राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्या भण्डारीबाट शपथ लिनुभएलगत्तै उहाँ सिंहदरबार पुग्नुभएको थियो।

स्वागत गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको परिसरमा कर्मचारीहरु लामबद्ध भएर उभिएका थिए।

मन्त्रालयका सचिव यादव कोइरालासहित कर्मचारीहरु फूलमाला, फूलका गुच्छा र खादासहित लाइनमा उभिएका थिए।

मन्त्रीको स्वागतको कर्मचारीहरुको बाहिरदेखि भित्रैसम्म भीड देखिएको थियो। त्रिपाठी यसअघि २०६८ सालमा बाबुराम भट्टराई नेतृत्वको सरकारमा मन्त्री बन्नुभएको थियो।

त्रिपाठी तत्कालीन एमालेको सूर्य चुनाव चिन्ह लिएर नवलपरासी पश्चिम निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र हैसियतमा विजयी हुनुभएको थियो।

यसअघि मन्त्री हुनुभएका लालबाबु पण्डित स्वैच्छिक अवकाश खारेजी र कर्मचारी समायोजनका क्रममा पटकपटक विवादमा तानिनुभएको थियो।

कार्यक्षेत्रमा नजाने कर्मचारीको जागिर खोस्ने, टे«ड युनियन हटाउने चेतावनीले गर्दा कर्मचारीमा असन्तोष छाएको थियो। शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा ल्याएको स्वैच्छिक अवकाश योजना खारेजीलाई राजनीतिक रूपमा लिइएको थियो।

स्वैच्छिक अवकाश योजना लागू हुने अन्तिम चरणमा मन्त्री हुनुभएका पण्डितले सो योजना खारेज गर्नुभएको थियो।डीभी पीआरधारी कर्मचारीलाई बर्खास्त गर्ने अभियानमा पहिलो सामान्य प्रशासन मन्त्रालय सम्हाल्दा वाहवाह कमाएका पण्डितले दोस्रोपटक त्यस्तो छवि कायम गर्न नसकेको प्रधानमन्त्रीको सचिवालयको बुझाइ रहेको छ।

तपाईंले काम गर्न नसक्नुभएको हो भन्ने प्रश्नमा उहाँले मन्त्री राख्ने र हटाउने प्र्रधानमन्त्रीको निर्णय रहेको बताउँदै त्यस निर्णयको सम्मान गर्ने बताउनुभयो।

प्रदेश र स्थानीय तहको अधिकार कटौती हुने गरी संघीय निजामती सेवा ऐनको मस्यौदा तयारी गरिरहेको अवस्थामा मन्त्री बन्नुभएका त्रिपाठीलाई मस्यौदा थप परिमार्जन गर्ने कि जस्ताको तस्तै पारित गर्ने भन्ने चुनौती सामना गर्नुपर्ने अवस्था रहेको छ।