बिजुलीको पोल हटाउन ७० लाख ज्याला

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

नागढुंगा–नौबीसे सुरुङ मार्गको धादिङ खण्डमा पर्ने भागमा रहेको बिजुलीको पोल हटाउन ७० लाख रुपियाँ ज्याला लाग्ने जनाइएको छ।

आयोजना निर्माण गर्ने स्थानमा ३३ केभीको प्रसारण लाइनको डबल पोल सार्न खर्चस्वरूप ज्याला लाग्ने भएको हो। सुरुङमार्गको पश्चिम भागमा संरचना निर्माण गर्ने स्थानमा नेपाल विद्युत् प्राधिकरणको नौ वटा पोल सार्न लागिएको नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले जनाएको छ।

आयोजनाले केही दिनअघि नेपाल विद्युत् प्राधिकरणलाई ज्यालास्वरूप उक्त रकम बुझाइसकेकोे जनाएको छ। आयोजना प्रमुख श्यामप्रसाद खरेलले पोल सार्न खर्चस्वरूप रकम बुझाइसकेको जानकारी दिनुभयो।

आयोजनाको निर्माण स्थलमा बिजुलीको डबल पोल रहेको छ। त्यसलाई सार्नका लागि प्राधिकरणलाई ज्यालास्वरूप ७० लाख रुपियाँ रकम दिइसकेका छौं’–उहाँले भन्नुभयो।

पोल सार्ने काम सम्पन्न भइसकेपछि आयोजनाको संरचना निर्माणको काम थालिने उहाँले बताउनुभयो।
आयोजनाको कात्तिक ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको थियो।

काठमाडौंको नागढुंगाको तोतीपाखादेखि धादिङको नौबीसे सिस्नेखोलासम्म २ दशमलव ७ किलोमिटर लामो सुरुङमार्ग बन्न लागेको हो।